नेकपाको विजय जुलुसमा ओली, बस्नेत र बास्कोटाका यस्ता तस्विर

काठमाडौं : संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौं उपत्यकासहित देशभर नै विजय जुलुस निकालेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । देशभरका विभिन्न शहरहरुमा समेत विजय जुुलुस निकालिएको छ  काठमाडौंको सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् ।

सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् । नेकपा कार्यकर्ताले प्रधानमन्त्री ओली, नेकपा नेता महेश बस्नेत र ७० करोड घुस बार्गेनिङमा विवादास्पद गोकुल बास्कोटाको तस्विर समेत प्रदर्शन गरी व्यंग्य गरेका छन् ।

संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो । काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किएका छन् ।

Promise Education Consultancy