सम्पादकीय : सर्वोच्चको ऐतिहासिक फैसला

सम्पादकीय  : विभिन्न शंका–उपशंका र व्यग्र प्रतीक्षापश्चात् सर्वोच्च अदालतले नेपाल र नेपाली जनताको पक्षमा फैसला गरेर ऐतिहासिक काम गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने आदेश दिएलगत्तै राजधानी काठमाडौँलगायत देशभर खुसीयाली छाएको छ । नागरिकले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनको पराजय भएको भन्दै मैनबत्ती प्रज्ज्वलन, विजय जुलुस, मोटरसाइकल ¥यालीलगायतका कार्यक्रम गरी खुसी प्रकट गरेका छन् । केपी ओली नेतृत्वको सरकारले जनमुखी काम गर्न नसकेपछि आमजनतामा असन्तुष्टि व्याप्त थियो । ओलीको कामकारबाहीप्रति उनकै दलले समेत प्रश्न उठाएको थियो ।
पार्टीका नेताहरुले पटकपटक सरकारको असफलताबारे सवाल उठाउँदा र ओलीले एकलौटी तवरले सरकार चलाउँदा नेकपा अनौपचारिकरुपमा दुई खेमामा विभाजित बन्यो । ओलीले संसद् र स्थायी कमिटी बैठकको सामना गर्न नसकेर हठात्रुपमा पुस ५ गते संसद् विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरे । ओलीको असंवैधानिक प्रस्तावमाथि कुनै विवेचना नै नगरी राष्ट्रपतिले विघटनको निर्णय सदर गरिन् ।
त्यसयता नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत सबै राजनीतिक दल एवं नागरिक समाजले विरोध जनाए । चैत ५ गतेपछि हरेक दिनजसो सडकमा ओलीको कदमप्रति विरोध प्रदर्शन भइरह्यो । ओलीले त्यसपछि पनि संवैधानिक नियुक्तिलगायतका प्रतिगामी कदम चालिरहे । यतिमात्रै होइन, सत्तामा रहेका ओलीले नै सडकमा मान्छे उतारे र आफ्नो स्तुतिगान गर्न लगाइरहे । ‘केपी ओली आई लब यू, आज होइन भोलिलाई दस वर्ष ओलीलाई’ भनेर सडकमा नारासमेत घन्किए । यो लाजको पसारो मंगलबारसम्म चलिरह्यो । कौलुहलताबीच सर्वोच्च अदालतले प्रतिनिधिभा (संसद्) विघटन गर्ने पुस ५ को निर्णय बदर गरिदियो । र, पुनःस्थापित संसद्को बैठक १३ दिनभित्रै बोलाउन परमादेशसमेत जारी ग¥यो । यतिबेला जनताको पक्षमा फैसला सुनाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलास धन्यवाद र बधाईको पात्र बनेको छ । सामाजिक सञ्जालहरुमा यिनै न्यायमूर्तिको प्रशंसा भएको छ ।
संविधान ट्याकमा आएको भन्दै ओली पक्षधरबाहेक सबैले खुसी प्रकट गरेका छन् । संयोग पनि कस्तो भने प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुधबार ओलीको असंवैधानिक कदम र प्रतिमगनको विरोध कार्यक्रमका लागि चितवन आएका थिए । तर, अध्यक्षद्वयको चितवन आगमनसँगै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनायो । सो फैसलासँगै विरोध सभाको कार्यक्रम विजय सभामा परिणत भएको छ ।
अध्यक्षद्वयसँगै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले लड्डु खाँदै अबिर लगाएर खुसीयाली खाटासाट गरे । एउटा सुखद संयोग नै मान्नुपर्छ, जब नेकपा अध्यक्ष प्रचण्ड चितवन आउँछन् नेपाली राजनीतिमा केही न केही तरंग आउँछ । बुधबार पनि त्यस्तै भयो । जुन कुराको उद्घाटन माधवकुमार नेपालले नै पनि उठाए ।
मुलुकमा ओली राजको अन्त्य भएको छ । अब देशलाई निकास दिन दलहरुले उचित निर्णय गर्नुपर्छ । फेरि एकपटक नेपाली जनताको ऐतिहासिक जीत भएको छ यो खुसी कायम राख्न आगामी नेतृत्वले जनताको पक्षमा काम गर्न सकोस्, शुभकामना !

Promise Education Consultancy