अदालतमा सरकारी वकिलको फितलो बहस,सबैतिरबाट घेरिएपछि हड्बडिए केपी शर्मा ओली ?

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलको बहस फितलो हुँदै गएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको हडबडाहट बढ्दै गएको छ । संसद् विघटन गर्दा र त्यसपछिका केहि दिन उनी जति ढुक्क देखिएका थिए पछिल्ला कृयाकलापले उनी त्यति नै अतालिएको विश्लेषण हुन थालेको छ । ओली पक्षधरले शुक्रबार गरेको आमसभा उनले देखाएका कृयाकलापले त्यसको पुष्टि गर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

नेकपा विभाजनपछि आफ्नो समूहले गर्ने हरेक कार्यक्रममा अर्का समूहका नेताहरूविरुद्ध आगो ओकल्दै आएका प्रधानमन्त्री ओली शुक्रबार भने निकै नरम देखिएका थिए । उखान टुक्का बिनै आफ्नो ५० मिनेट लामो भाषणलाई टुङ्ग्याएका ओलीमा न यसअघिका कार्यक्रममा जस्तो उत्साह थियो, न त कुनै नेताविशेष आक्रमण नै । जबकि, बितेको डेढ महिनामा ओलीले नामै किटेर क्यारिकेचर गर्नेदेखि विभिन्न उखान टुक्कामार्फत् विपक्षीमाथि खनिने गरेका थिए । त्यति ठूलो कार्यकर्ताको भीड देख्दा पनि ओलीले नरम भाषण गर्नुलाई सामान्य हिसावले मात्रै हेर्न नसकिने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

पछिल्लो समय राजामहाराजाकै झल्को दिने गरी ओलीका ठूल्ठूला पोस्टर बनाएर उनको पक्षमा नारा लगाउने र प्रदर्शन गर्ने क्रम बढ्दै गएको छ । शुक्रबारको जनसभा पनि त्यसकै एउटा कडी थियो । ओली जब आफू कमजोर हुँदै जान्छन् त्यतिखेर आफू अझै बलियो छु भन्ने देखाउँन आफू पक्षधरलाई नाराबाजी र प्रदर्शन लगाउने गर्दै आएका छन् । यसअघि पनि पार्टीभित्र या सरकारमा ओलीको पक्षमा माहोल बिग्रिनेबित्तिकै उनले यसैगरी प्रदर्शन गर्न लगाउने गरेका थिए । नेकपाका दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य, प्रतिपक्षी, नागरिक समाज, बुद्धिजीवी र कानुनविद् उनको विपक्षमा उभिएपछि ओलीमा देखिएको हड्बडाहट पछिल्लो समय अदालतमा सरकारी वकिलको कमजोर बहसका कारण बढेको छ । कानुनविद् सुनिल पोखरेल ओलीको पक्षमा बहस गर्ने वकिलहरुले तथ्यभन्दा ज्यादा भावनामा बहकिएर बहस गर्न थालेपछि ओलीमा छट्पटि बढेको हुनसक्ने टिप्पणी गर्छन् ।

वरिष्ठ अधिवक्त पोखरलेको कुरामा अर्का कानुनविद् दिनेश त्रिपाठी पनि सहमत छन् । ओलीमा हड्बडी र छटपटि प्रष्ट देखिन थालेको उनको टिप्पणी छ । संवैधानिक निकायमा नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न पठाइएको सिफारिस सभामुख अग्नि सापकोटाले आइतबार संवैधानिक परिषद्मै फर्काइदिएपछि ओलीले बुधबारका लागि परिषद् बैठक डाकेका थिए । परिषद् सदस्य प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको असहमतिपछि बैठक स्थगित भयो । तर ‘बलमिच्याइँपूर्वक’ संवैधानिक आयोगमा सिफारिस भएकाहरूले बुधबार बिहानै सपथ लिइसकेका छन् । यो ओलीको हडबडपूर्ण मानसिकताको अर्को उदाहरण कानुनविद् त्रिपाठी बताउँछन् । उनका अनुसार सरकारी वकिलको भावनात्मक र मनगढन्ते बहसले पनि ओलीमा छट्पटि बढाएको छ ।

ओलीको छट्पटि उनको धौडधुपले पनि प्रष्ट पार्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । पुष ५ गतेअघि बालुवाटारमै हुने बैठकमा समेत सहभागी हुन गाह्रो मान्ने ओली पुष १५ पछि बालुवाटारबाहिरका कार्यक्रममा सहभागी हुन मात्रै होइन जिल्ला जिल्ला पुग्न र प्रदर्शनहरुलाई सम्बोधन गर्न थालेका छन् । ओलीको हडबडाहट पार्टीमा सल्लाहसमेत नगरी एकलौटी ढंगबाट आफैले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव समूहसँग अघि बढाएको वार्ता प्रक्रियाले पनि पुष्टि गर्छ । आफू कमजोर हुने अवस्था देखेपछि उनले शक्ति आर्जन गर्न प्रतिबन्धित विप्लव समुहसँग वार्ता प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

ओली सरकारका मन्त्री मणि थापाले गत मंगलबार नक्खु कारागार पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए । ठूलो समूहबाट अस्वीकृत हुँदै गएपछि ससाना समूहलाई भेटघाट गर्ने, चुनाव अभियानमा झैं गरी दौडधूप गर्ने, विपक्षमा रहेकालाई निम्नस्तरको गाली गर्ने र आफैंले घोषणा गरेको चुनावको तयारी गर्न निर्वाचन आयोगलाई समेत असहयोग गर्ने ओलीको कार्यशैलीले उनमा छट्पटि बढेको प्रष्ट हुन्छ ।

Promise Education Consultancy