अभिनेत्री नीताको प्रश्न:‘पुरुष नारीलाई कमजोर किन सम्झन्छ’ ?

काठमाडौँ : बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाले सबैलाई चकित मात्र तुल्याएन, स्तब्ध समेत बनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालिसकेको छ । भागरथीको बिभत्स हत्यालाई विभिन्न राजनीतिक पार्टी, समाजसेवी लगायत सबैबाट घटनाको राम्रो अनुसन्धान हुनुपर्ने र दोषीलाई कानुनी कठघरमा उभ्याउन माग समेत गरिएको छ । हाम्रा कलाकर्मीले पनि बलात्कारीलाई चाँडो पक्राउ गरेर कडा भन्दा कडा कार्बाही गर्न सरकारसँग बिभिन्न माध्यमबाट आग्रह गरिरहेका छन् ।

यस्तैमा अभिनेत्री नीता ढुंगानाले नारीको सम्मान गर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् पोष्ट गर्दै नारीको अपमान होइन र सम्मान गर्न आग्रह गरेकी हुन् । ‘नारीकै कोखबाट जन्मिएर, नारीकै हातबाट हुर्किएर, नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् । तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’

उनले भागरथी हत्या प्रकरणको विषयमा आफ्नो विचार राख्दै अगाडि लेखेकी छन्– ‘सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौं ।’ हाल भोजपुरी फिल्म ‘माही’ मा अभिनयका लागि भारतको आगरामा रहेकी नीताले यस अगाडि विभिन्न पोष्टमार्फत नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा पनि चिन्ता व्यक्त गरेकी थिइन् ।

Promise Education Consultancy