दोस्रो चरणका लागि आवश्यक कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु

काठमाडौं : सरकारले दोस्रो चरणका लागि आवश्यक कोरोनाविरूद्धको खोप खरिद पक्रिया सुरू गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको एक वर्षपछि बुधबार खोप अभियान थालेको सरकारले दोस्रो चरणका लागि आवश्यक खोपका लागि खरिद प्रकिया सुरू गरेको हो ।

दोस्रो चरणमा १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराइने छ । यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग परामर्श भइरहेको जनाइएको छ ।

नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको भारतले विक्रीका लागि प्रति मात्रा भारतीय ३०० रूपैयाँसम्म पर्न सक्ने अनुमानित मूल्य प्रस्तुत गरेको स्रोतले जनाएको छ । तर, यसबारे अन्तिम निर्णय भइनसकेकाले मूल्य घटबढ हुन सक्ने दुतावास निकट स्रोतले जनाएको छ ।

दोस्रो चरणका लागि आवश्यक खोप खरिद गर्न आवश्यक बजेट व्यवस्था भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले बुधबार खोप अभियानका क्रममा खोप खरिदका लागि आवश्यक बजेट व्यवस्था भइसकेको जनाएका थिए ।

Promise Education Consultancy