चितवनमा सातौँ कृषि गणना २०७८ को तयारी सुरु

चितवन : चितवनमा सातौँ कृषि गणना २०७८ को तयारी सुरु भएको छ । । वि.स.२०१८ सालदेखि प्रत्येक १० वर्षमा हुँदै आएको कृषि गणना आउँदो वर्ष २०७८ को पुस महिना देखि सुरु हुने तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले जानकारी दिए ।

देशमा तीन तहको सरकार बनेपछि तीनै तहलाई आवश्यक पर्ने कृषि सम्बन्धी सम्पूर्ण तथ्याङ्कहरु उपलब्ध गराउने उद्देश्यले यो गणना गर्न लागिएको हो ।

विश्व खाद्य तथा कृषि संगठन विकास एवम प्रवद्र्धन गरेको डब्लुसीए २०२० को मार्गदर्शनमा रहेर उक्त गणना कार्य गरिनेछ । सो गणना कार्यमा संरचनागत तथ्याङ्क, अस्थायी स्थायी वाली लागेको जग्गाको क्षेत्रफल, कित्ता संख्या, जग्गाको उपयोग, सिँचाईको अवस्था, मदखाद, वीउविजन, पशुपंन्छीको संख्या लगायतका कृषिमा आधारित सम्पूर्णलाई समेटेर गणना गरिने भएको हो ।

यो पटक हुने गणनामा महिलाको नाममा रहेको जग्गा, कृषि वीमा तथा सरकारी अनुदान, जलवायू परिवर्तनले कृषिमा पारेको असर, वालीमा विषादीको प्रयोग, कृषिकार्यबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन, सरकारी सेवा सुविधामा कृषकको पहुँच वृद्धि आदिलाई लक्षित गरी प्रश्नावलीहरु तयार गरिएको छ । यस पटक कागजी प्रश्नावलीसँगै ट्याव्लेटमा समेत गणना गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।

सोही बारेमा जानकारी दिने उद्देश्यले तथ्याङ्क कार्यालय चितवनले आज जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कृषिमा देखिएका समस्या र तीनलाई कुनै हालतमा पनि यो गणनाले समेट्नुपर्नेमा जोड दिएका थिए । साथै विषयगत सरकारी कार्यालयहरुले यो कार्यक्रममा सहकार्य गरेर जान पनि भनेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले गणक र सुपरीवेक्षक छनौटमा ध्यान दिन आग्रह गर्दै वास्तविक तथ्याङ्क आउने गरी स्थानीय कृषकहरुले बोल्ने वातावरण वन्नुपर्नेमा जोड दिए । त्यसो गरिए वास्तविक तथ्याङ्क आउने र त्यसले नीति, योजना, कार्यक्रम र बजेट निर्माण गर्न सहयोग पुग्ने भन्दै जनप्रतिनिधिबाट पूर्ण सहयोग रहने उनले बताए ।

Promise Education Consultancy