चितवनमा खोप अभियानको पहिलो दिन २ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाए

चितवन : चितवनमा खोप अभियानको पहिलो दिन २ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। बुधबार भरतपुर अस्पतालबाट १२० जना, रत्ननगरको बकुलहर अस्पतालबाट ११९ र माडीको बघौडा अस्पतालबाट ४० जनालाई खोप दिइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
आज देखि सुरु भएको देशव्यापी खोप अभियान अन्र्तगत चितवनका तीन अस्पतालबाट खोप लगाइएको थियो ।

चितवनमा पहिलो चरणमा ४ हजार १ सय डोज खोप आइपुगेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

चितवनका ७ स्थानीय तहमध्ये भरतपुरमै कोभिसिल्ड खोप लगाउन इच्छुक धेरै छन् । थप डोज मगाइएको तिवारीले बताउनुभयो । भारतले अनुदानमा १० लाख डोज कोभिसिल्ड नामक खोप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।

सरकारले पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई दिन थालेको छ । पहिलो डोज खोप लगाएपछि अर्को डोज न्यूनतम ४ हप्तापछि लगाउनु पर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप १८ वर्ष मुनिका तथा गर्भवती र सुत्केरीहरूले लगाउन नहुने बताएको छ ।

Promise Education Consultancy