चितवनमा माघ २० भित्रै कोरोनाको खोप लगाउन शुरु गरिने

चितवन : चितवनमा कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि तयारी भइरहेको छ । पहिलो चरणमा माघ २० गते भित्रै खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पहिलो चरणमा आउने खोप कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई लगाइने छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार पहिलो चरणमा प्रत्यक्ष उपचार सेवामा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स तथा शव बाहनका चालक र सरसफाईकर्मीहरुलाई खोप लगाइने उनले बताए । तिवारीका अनुसार पहिलो चरणका लागि ६ हजार भन्दा बढी फ्रन्टलाइनरहरुको तथ्याङ्क संकलन गरी पठाइएको छ ।

पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई खोप दिइनेछ उनले भने, हामीले ६ हजार भन्दा बढी फ्रन्टलाइनरहरुको तथ्याङ्क पठाएका छौं, उताबाट कती खोप आउँछ भन्न सकिन्न ।

उनका अनुसार पहिलो चरणमा ६ हजार ५०० देखि ७ हजार खोप माग गरिएको छ । १८ गते भित्र खोप आइपुग्ने र आएलगत्तै लगाउन शुरु गरिने उनले बताए । खोप भण्डारणका लागि कुनै समस्या नरहेको समेत उनले बताए । स्वास्थ्य कार्यालयको नियमित भ्याक्सिन भण्डारण गरिने कोल्ड रुममा नै कोरोनाको खोज भण्डारण गरिनेछ ।

भण्डारणका लागि केही समस्या नै छैन उनले भने, हामीले नियमित रुपमा भ्याक्सिन भण्डारण गरिरहेको कोल्डरुममा नै भण्डारण गर्न सक्छौं ।” जिल्लाका ३ वटा अस्पतालबाट मात्रै कोरोनाको खोप दिइने छ ।

पूर्वी चितवनका लागि रत्ननगरको बकुलहर अस्पताल, भरतपुर अस्पताल र माडीका लागि माडी अस्पतालबाट मात्र खोप दिइने छ । यि अस्पतालका स्वास्थ्यकर्मीहरुलाई खोप सम्बन्धी तालिम दिइने छ । भारत सरकारले नेपाललाई अनुदानमा १० हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो ।

उक्त खोप अहिले प्रदेशहरुमा पठाउने काम भइरहेको छ । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान पुरु हुनेछ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।