प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन आउदै, सिटिहल र ६ लेन सडक शिलान्यास गर्दै

चितवन : प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन । चितवनमा ओलि नेतृत्वको नेकपाले आयोजना गर्ने बृहत् आमसभा र भरतपुरको गौरवका आयोजना सिटिहल र गोन्द्राङ्ग- पुलचोक ६ लेन सडकको शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेको आज नेकपा (ओलि पक्ष)ले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । दिउँसो साढे १२ बजे देखि सुरु हुने आमसभा अघि सिटिहल र ६ लेन सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

कार्यक्रममा प्रधानमन्त्री ओली सहित गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकास मन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भरतपुरको गौरवको आयोजनाका रुपमा सिटिहल सघन शहरी विकास आयोजना अन्तर्गत निर्माणाधीन छ । ८७ करोड ८८ लाखको ठेक्का सम्झौतामा भरतपुर सिटिहल निर्माण तिब्र भईरहेको छ । त्यस्तै भौतिक योजना मन्त्रालयको योजना अन्तर्गत गोन्द्राङ्ग- पुलचोक ६ लेन सडक खण्ड १ अर्ब १२ करोडमा निर्माण भईरहेको छ ।
यस अघि सिटिहल र ६ लेन सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले संयुक्त शिलान्यास गर्ने कार्यक्रम थियो । तर विकसित राजनैतिक घटना क्रमका कारण सरकारले प्रचण्ड बिनानै शिलान्यास गर्ने तय भएको नेकपा ओली पक्ष कि नेतृ दिल कुमारी रावल (पार्वती) ले जानकारी दिइन । उनका अनुसार अध्यक्ष प्रचण्ड मुल पार्टी बाट छोडेका कारण शिलान्यास कार्यक्रममा सहभागी बनाउन नसकिएको हो।
पछिल्लो समय सिटिहल लगाएत ६ लेन सडकखण्ड दुई पक्षले प्रतिष्ठाको रुपमा व्याख्या गरेका छन । केही दिन अघि भरतपुर महानगरले पत्रकार सम्मेलन नै गरेर सिटिहल निर्माणको अभिभावकत्व भरतपुरको भएको बताइएको थियो । महानगर प्रमुख रेनु दाहालले विकासको योजनामा प्रतिष्ठाको लडाईले विकास निर्माणको तिब्रतालाई आघात पार्ने हुनाले कसैले प्रतिष्ठाको रुपमा नलिई जिम्मेवारीको रुपमा लिन आग्रह गरेकी थिईन ।
नेकपा ओली पक्ष कि नेतृ दिल कुमारी रावल (पार्वती) भने सघन सहरी विकास आयोजना अन्तर्गत सिटिहल र भौतिक योजना मन्त्रालय अन्तर्गत ६ लेन सडक रहेकाले त्यसको विकासको प्रक्रिया केन्द्र सरकारको रहेको बताइन ।