शोकमा खैरहनी नगरपालिकामा आज नगरपालिका र वडा कार्यालय बन्द

चितवन : वडा अध्यक्षको निधनको शोकमा चितवनको खैरहनी नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु आज आइतबार बन्द गरिएको छ । खैरहनी वडा नम्बर १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको माघ ९ गते निधन भएको थियो ।

नगर कार्यपालिकाको आइतबार आजै बिहान बसेको बैठकले नगरपालिका कार्यालय र नगरपालिका अन्तर्गतका १३ ओटै वडा कार्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले जानकारी दिए ।

नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्ष उप्रेतीको निधनको शोकमा नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा तीन दिन रास्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

त्यस्तै नगरपालिका र वडा नम्बर १३ को वडा कार्यालयमा १३ दिन शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको छ । रक्तचाप कम भएर बेहोस भइ चितवन मेडिकल कलेजमा उपचारका क्रममा वडा अध्यक्ष उप्रेतीको निधन भएको हो । वडा अध्यक्ष उप्रेतीको निधन पछि शनिबार तय भएको आठौं नगर सभा समेत अनिश्चित समयका लागि स्थगित भइसकेको छ ।

Promise Education Consultancy