पत्रकारलाई सम्मानको पाठ पढाउने प्रधानमन्त्री किन आफैले अरुको अपमान गर्छन ?

काठमाडौं । पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भने मर्यादाका सारा सीमा नाघ्दै आएका छन् । राजनीतिक प्रतिस्पर्धी मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू, प्रोफेसर र बुद्धिजीवीहरू, लेखक तथा पत्रकारहरूलार्ई प्रधानमन्त्रीले अवहेलना गर्दै आएका छन् ।

वरिष्ठ अधिवक्ता कृृष्णप्रसाद भण्डारी बहसका लागि सर्वोच्चमा गएका दिन प्रधानन्यायाधीशसहितका न्यायाधीशहरूले सम्मान र संयमका साथ सुने । अरू अधिवक्तालाई समय तोकिएको थियो, तर वरिष्ठ अधिवक्ता भण्डारीलाई इजलासले समयको पावन्दी लगाएन । ९४ वर्षीय भण्डारीले ६३ वर्षदेखि अदालतमा न्यायको पक्षमा पैरवी गर्दै आएका छन् ।

पूर्वप्रधानन्यायाधीशलाई अजासु, अधिवक्ताहरूलाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धिजीवीलाई झुन्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरूलाई हुल्लडबाज भन्ने ओली आफ्नो आलोचना गर्ने पत्रकारलाई नर्कबासी भन्छन्

भण्डारी नेपाल ल क्याम्पसको पहिलो ब्याचका विद्यार्थी हुन् । ल क्याम्पसमा १६ वर्ष पढाउँदा मात्र होइन, नेपालको पहिलो ल फर्म ‘नेपाल ल फर्म’बाट उनले धेरै कानुन व्यवसायीलाई प्रशिक्षित गरेका छन् । पूर्वप्रधानन्यायाधीश केदानथाथ गिरीदेखि गोविन्दबहादुर श्रेष्ठलाई भण्डारीले नै कानुन सिकाएका हुन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई कानुन पढाएका हुन् ।

अध्ययन, अध्यापनमा मात्र होइन, राजनीतिक स्वतन्त्रताको लडाइँमा पनि भण्डारी एक योद्धा हुन् । उनलाई राजा महेन्द्रले प्रधानन्यायाधीशसम्मको ‘अफर’ गर्दा उनले अस्वीकार मात्र गरेनन्, बरु पञ्यायती व्यवस्थाद्वारा राजद्रोहको मुद्दा लगाइएका बिपी कोइराला, डा. केआई सिंह र रामराजाप्रसाद सिंहको मुद्दा लडे । राजनीतिक दृष्टिकोण राखेकै कारण ०३२ मा सहाना प्रधानसहित भण्डारीलाई पनि पञ्चायती शासनले नेपाल ल क्याम्पसको अध्यापकबाट बर्खास्त गरेको थियो । तर, उनले निर्भीक र निरन्तर रूपमा राजनीतिक बन्दीको पक्षमा पनि मुद्दा लडिरहे ।

बार र बेन्च दुवैले उच्च सम्मान गर्ने भण्डारीले प्रतिनिधिसभा विघटनविरुद्ध पैरवी गरेपछि उनले गरेको बहसमाथि व्यंग्य गर्दै शुक्रबार ओलीले भने, ‘एकजना बाजे वकिललाई तमासा देखाउन सर्वोच्च लगेछन् ।’ विडम्बना, ओलीले यसो भन्दा हाँसोले हल गुञ्जायमान बनाउनेहरू अरू कोही होइन, पेसागत तथा बुद्धिजीवी संगठनका अगुवा थिए । पेसागत बुद्धिजीवी जिल्ला कमिटी काठमाडौंको ब्यानरमा यो कार्यक्रम भएको थियो ।

तर, आफ्नो पार्टीमा आबद्ध बुद्धिजीवीलाई हँसाउने काम गरे पनि फरक मत राख्ने बुद्धिजीवीप्रति भने ओली सधैँ अनुदार छन् । राष्ट्रिय सभामा २६ पुसमा उनले बुद्धिजीवीलाई झुन्ड नै भनेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध एकसे–एक प्रतिष्ठित वरिष्ठ अधिवक्ताहरूले सर्वोच्चमा बहस गर्न थालेपछि ओलीले पनि उनीहरूबारे भद्दा टिप्पणी गर्दै आएका छन् । उनले अधिवक्ताहरूलाई ‘दुर्मुखा’समेत भने, त्यो पनि प्रधानमन्त्रीका रूपमा राष्ट्रिय सभामा उभिएर । २६ पुसमा राष्ट्रिय सभामा उनले यसो भनेका थिए, ‘नेपालका केही कानुनविद्माथि दया लागेर आउँछ । केही दुर्मुखाहरू गणतन्त्रको सर्वोेच्च संस्था, राष्ट्रको गरिमामय सर्वोच्च संस्थाको मानमर्दनमा लागेका छन् । तिनीहरू गणतन्त्रविरोधी हुन् ।’

राष्ट्रिय सभामै उभिएर ओलीले अधिवक्तामाथि मात्र होइन, पूर्वप्रधानन्यायाधीशहरूमाथि पनि व्यक्तिगत स्तरमा टिप्पणी गरे । ‘एकपटक अदालतमा जागिर खाएको केही मान्छेले अहिले पनि जागिरमै छुजसरी यस्तो हुन्छ र उस्तो हुन्छ भनेर बोल्छन् । अहिले केही अजासु (अति जान्ने सुन्ने) निस्किएर संवैधानिक इजलासबाट हुँदैन भनेर सडकबाटै फैसला दिन खोजिरहेका छन्, संवैधानिक इजलासबाट हुँदैन भनेर कुन संविधानमा छ ?’

राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गरेकोमा ओलीले पत्रकारको आलोचना गर्दै आएका छन् । तर, पछिल्लोपटक त उनले ‘पत्रकार नर्कमा जान्छन्’ सम्म  भन्न भ्याए, त्यो पनि पत्रकारहरूकै कार्यक्रममा ।

प्रेस संगठनको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीको टिप्पणी थियो, ‘जब मान्छे स्वार्थमा चल्छ, जब मान्छेले आत्मा बेच्छ, त्यसपछि नर्कमा गइसकेपछि फर्किनै सक्दैन, ज्युँदै नर्कमा जान्छ । के गर्ने त्यसलाई त निकाल्नै सकिँदैन, ऊ त्यहाँबाट निस्किनै सक्दैन ।’

पार्टीमा आबद्ध पत्रकारहरूलाई उनको भनाइ थियो, ‘तर, म फेरि भन्छु, सत्यमेव जयते । त्यस्ता खालको पीत पत्रकारिता आफैँ खेर जान्छ । किनभने पीत पत्रकारितासँग जुध्ने, पत्रकारिताको धर्म फलाउने, फुलाउने तपाईंहरूको जस्तो समूह पनि छ । जो, देश, जनता, लोकतन्त्र र सत्यको पक्षमा लड्छ ।’ नयाँ पत्रिका