फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा : मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेको प्रहरीले जनाएको छ।

शनिबार बिहान अन्दाजी २ बजेको समयमा समुहमा आएका मानिसले चालकलाई झारेर आगो लगाएको प्रहरीले जनाएको छ।आगजनीबाट पिकअपको अगाडिको भाग जलेर नष्ट भएको र आगजनी गर्नेको खोजि कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यस्तै शनिबार बिहान राक्सिराङ–५ खोप्लासीस्थित मनहरी खोला बगरमा ‘बम’ लेखिएको शंकास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । घटनास्थलमा हरियो कार्टुनलाई प्लाष्टिकको टेपले बेरेको र बिजुलीको रातोकालो तार बाहिर निकालिएक ‘बम’ लेखिएको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले बताए । उहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ र डिस्पोजका लागि नेपाली सेनाको टोली पुग्दै छ ।

नेकपा विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आज नेपाल बन्दको घोषणा गरेको थियो । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको थियो ।

प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो । उनीहरुलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

Promise Education Consultancy