बाघ, गैँडा संरक्षण गर्न चितवनमा पाठशाला सुरु

चितवन : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीमा रहेका बाघ गैँडा लगायतका बन्यजन्तु संरक्षणका लागि आजदेखि बाघ, गैँडा संरक्षण पाठशाला सुरु भएको छ ।

राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान मध्यवर्ती क्षेत्र चितवनको आयोजनामा भरतपुर वडा न १३ गंगानगरमा कार्यक्रम गर्दै पाठशालाको सुरु गरिएको संरक्षणकर्मी एवम संस्थाका अध्यक्ष अपिल घिमिरेले जानकारी दिनुभयो ।

मध्यवर्ती क्षेत्रमा बसोवास हुने र वन्यजन्तुहरुको आनीवानी थाहा नहुँदा धेरै घटना भएपछि यो अभियान थालिएको घिमिरेले बताउनुभयो । पाठशाला बारे घिमिरेले भन्नुभयो,“जनस्तरबाट यो अभियानको सुरु भएको छ । वन्यजन्तुको आनीवानीवारे विषयविज्ञहरुले तालिम तथा शिक्षा दिने हुँदा मानव वन्यजन्तुवीचको द्वन्द्व पनि कम हुने र मानविय क्षतीलाई पनि न्यूनिकरण गर्न सहयोग मिल्नेछ ।”
आज भरतपुर १३ गंगानगरमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु तथा विपन्न वर्गहरुलाई लक्षित गरी एक दिने पाठशाला सम्पन्न भएको छ । अव विभिन्न स्थानमा बाँकी ३१ वटा पाठशाला सुरु हुने घिमिरले जानकारी दिनुभयो ।


आजको कार्यक्रममा प्रमुख अतिथि एवम विषयविज्ञ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका प्रमुख डा बाबुराम लामिछानेले बाघ गैँडाको स्वाभाव तथा जंगल जाँदा ख्याल गर्नुपर्ने कुराहरुको जानकारी गराउनुभएको थियो । सन् २००७ देखि २०१६ सम्म आफूले चितवनमा रहेका बाघहरुको आनीवानीवारे अध्ययन गरेको भन्दै बाघ मानिसको आहारा नभएको र केही घटना दुर्घटना भएको बताउनुभयो ।

उहाँले बाघ र गैँडाले कस्तो अवस्थामा आक्रमण गर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा शिक्षा सँगै किताव समेत उपलब्ध गराउनुभएको थियो । जंगली जनावरका कारणनै जंगल संरक्षण भएको उहाँको भनाई थियो । विश्वका १३ देशमा मात्रै बाघ पाइने र नेपालको चितवन पनि बाघका लागि उपयुक्त स्थान भएको बताउनुभयो ।

विश्वभर करिव ४ हजार बाघमध्ये नेपालमा २३५ वटा बाघ रहेको उहाँले बताउनुभयो । कहिलेकाही हुने दुर्घटनाकै कारण बाघलाई नाश गर्नुपर्छ भन्ने नकारात्मक धारणाको विकास हुन नदिन उहाँको आग्रह थियो । मानवले थप सेचतना अपनाउने र वन्यजन्तुको केही आनीवानी थाहा पाएमात्रै पनि धेरै दुर्घटनाबाट बच्न सकिने उहाँको भनाई थियो ।

बाघको मुख्य बासस्थान बेत बाँस रहेको र बेलसहरले ती बाँसहरु हुर्काएर संरक्षण गरिरहेको वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिनुभयो । साथै पाठशालाले स्थानीयलाई संरक्षणमा लाग्न साथै वन्यजन्तुबाट जोगिन सहयोग पुगेको बताउनुभयो ।
स्थानीयहरुको सहभागीता रहेको कार्यक्रम सुर्य घिमिरले संचालन गर्नुभएको थियो ।

Promise Education Consultancy