ओलीको महाराजा बन्ने सपना पुरा हुन दिन्नौंः नेता शर्मा

सुर्खेत । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली संविधानभन्दा माथि आफुलाई राखेर उहिलेका राजा जस्तै बन्ने प्रयासमा लागेको भन्दै उनको सपना पुरा हुन नदिने बताएका छन् ।

नेता शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत अब सोच्ने बेला भएको भन्दै देश र संविधानको रक्षाका लागि सबै वर्ग र क्षेत्रका जनताको एकीकृत आन्दोलन जरुरी रहेको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने तथा अधिकार प्रत्यायोजन गर्नुको साटो पुँजीवाद र केन्द्रीकृत प्रणालीको पक्षपोषणमा प्रधानमन्त्री ओली लागिरहेका छन् । समृद्धि, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरको बाटोमा जान छोडेर ओली भ्रष्टाचार र सिमित घेरामा रमाइरहेका छन् ।”

उनले ओलीले क्रान्तिको झण्डा खोसेर फालेको उल्लेख गर्दै आफूहरु उक्त झण्डा जोगाउन संघर्ष गरिरहेका बताए । कर्णालीलाई दिनुपर्ने अधिकार नदिएकाले सिंगो कर्णालीका जनता ओलीको विपक्षमा रहेको उनको भनाई थियो ।

Promise Education Consultancy