वाग्मती प्रदेशका १० जिल्लामा ट्राफिक प्रहरी कारवाहीको राजस्वमा वृद्धि

चितवन : उपत्यकाका ३ जिल्ला बाहेक वाग्मती प्रदेश अन्तर्गतका १० जिल्लामा ट्राफिक प्रहरी कारवाहीको राजस्वमा वृद्धि भएको छ ।  गत आर्थिक बर्षको तुलनामा यस बर्ष राजस्वमा वृद्धि भएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

गत आर्थिक बर्ष संकलन भएको राजस्वको हाराहारीमा चालु आर्थिक बर्षको ६ महिनामा नै संकलन भएको वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनु भयो । उहाँका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा १३ करोड १ लाख ६८ हजार ५ सय राजस्व संकलन भएकोमा यस बर्षको पहिलो ६ महिनामा नै १० करोड ९८ लाख ६ हजार ५ सय राजस्व संकलन भएको हो।

साथै यो आर्थिक बर्षमा १ लाख ५१ हजार १ सय २१ सवारी साधन ट्राफिक नियम उल्लंघन बापत कारवाहीमा परेका छन् । आर्थिक बर्ष २०७५/०७६ मा १ लाख ९३ हजार ५ सय ११ ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन कारवाहीमा परेका थिए।

त्यस्तै १० जिल्लामा सवारी साधनबाट हुने दुर्घटना बढेको भए पनि मृत्यु हुनेको संख्या भने घट्दै गएको छ। तर वाग्मती प्रदेशअन्तर्गतका १० जिल्लामा सवारी साधनबाट हुने दुर्घटना भने बढेका छन् ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो छ महिनामा प्रदेशका १० जिल्लामा ४४८ वटा सवारी साधन दुर्घटना हुुँदा २६३ जनाको ज्यान गएको कोइरालाले बताएका छन् । सो दुर्घटनामा परेर एक हजार २०१ जना घाइते भएका कोइरालाले बताए । आर्थिक वर्ष २०७५÷७६मा वाग्मती प्रदेशमा ३७६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सो दुर्घटनामा परेर २६१ जनाले ज्यान गुमाउँदा ७९६ जना घाइते भएको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा ६७५ वटा सवारी साधन दुर्घटना हुँदा १४२ जनाको ज्यान गुमाएका छन् ।

उता मुग्लिङ्ग-नारायणगढ सडकखण्डको स्तर उन्नतीका कारण यो क्षेत्रमा सडक दुर्घटना ह्वात्तै घटेको छ । तर पूर्वी चितवनमा साघुरो सडक र उच्च सवारी चापका कारण दुर्घटना बढेको छ।

मुग्लिङ्ग-नारायणगढ सडकखण्डमा बिस्तार अघि आर्थिक बर्ष २०७४/७५ मा ९९ जनाले ज्यान गुमाउदै ७ सय ४१ जना घाइते भएका थिए। सो अवधीमा ४ सय सवारी दुर्घटना भएका थिए। सडकखण्ड बिस्तार पश्चात आर्थिक बर्ष २०७५/७६ मा ५५ दुर्घटनामा २८ जनाले ज्यान गुमाएको तथ्यांक छ। सो दुर्घटनामा परि १ सय ८७ जना घाइते भएका छन् । त्यस्तै गत आर्थिक बर्षमा ५७ दुर्घटनामा २४ जनाको मृत्यु र १ सय १४ जना घाइते भएका छन्। चालु आर्थिक बर्षको ६ महिनामा १९ दुर्घटनामा ४ जनाको ज्यान गएको वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ। सो अवधीमा दुर्घटना परि ४४ जना घाइते भएका छन्।

चालु आर्थिक बर्षमा चितवनमा यो आर्थिक वर्षको ६ महिनाभित्र भएका सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भइसकेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सवारी दुर्घटनाबाट साउनमा ८, भदौमा ३, असोजमा ९, कार्तिकमा १०, मंसिरमा १३ र पुसमा १५ जनाको मृत्यु भएको हो।

गत आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा दुर्घटनाबाट ९१ जनाको मृत्यु भएको थियो। चालु आर्थिक वर्षको पुष मसान्तसम्म दुर्घटना परेर मृत्यु हुनेहरूमा पुरुष ४८ जना, महिला ६ जना, बालक एक र बालिका तीन जना छन् ।