नयाँ प्रजाति भेटिएकामध्ये २ जना संक्रमणमुक्त, एक चिकित्सकको निगरानीमा

काठमाडौं । केही समयअघि बेलायतबाट आएका नेपालीमा पनि बेलायतमा विकास भएको नयाँ युके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको थियो । नयाँ प्रजातिको संक्रमण भएका ३ जनामध्ये दुई जना संक्रमणमुक्त भएका छन् । उनीहरु अहिले संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी जानकारी दिए ।

बेलायतबाट आएकाहरुमध्ये ३ जनामा कोरोना भाइरसको नयाँ संक्रमण भएको माग ५ गते पुष्टि भएको थियो । डा.अधिकारीले भने, “उहाँहरुमा अहिले कुनै पनि स्वास्थ्य समस्या छैन । दुई जना संक्रमणमुक्त हुनुभएको छ भने एक जना ६७ वर्षीय पुरुषमा संक्रमण भइरहेको छ ।”

उनको पनि अहिले स्वास्थ्यमा कुनै समस्य नदेखिएको डा. अधिकारी बताए । “नयाँ कोरोना भाइरस भेटिएका उहाँहरु अहिले निरन्तर चिकित्सकको निगरानीमा रहनुभएको छ,” डा.अधिकारीले भने, “तर उहाँहरुलाई कहाँ राखेर कसरी चिकित्सकले निगरानी गरिरहेको छ, भनेर अहिले भन्न मिल्दैन ।” उनले भने ।

मन्त्रालयले निगरानीमा राखिएका ६ वटा नमुनामध्ये तीन नमुना गत पुस २७ गते हङकङ पठाइएको थियो । हङकङ पठाइएको नमुनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई इमेलमार्फत सोमबार प्राप्त भएको थियो । सो रिपोर्टअनुसार, दुई पुरुष र एक महिलामा नयाँ प्रजातिको कोरोना भाइरस रहेको पुष्टि भएको थियाे ।

नेपाल सरकारले बेलायतबाट आउने यात्रुलाई प्रतिबन्ध लगाइसकेको छ ।