गैडालाई चरनको अभाव !

पशुपति अधिकारी : १) इतिहास ः कुनै समय गंगा, व्रम्हपुत्र, इन्दुस र तिनका सहायक नदी वरिपरी फैलिएका गैडा उन्नाईसौ शताब्दी सम्म आईपुग्दा पूर्वोतर भारतको काजिरङ्गा र नेपालको चितवनमा मात्र सिमित हुन पुगे । वासस्थान बिनाश र चोरी शिकारका कारण लोप हुँदै करिव २०० को हाराहारीमा पुगेका गैडालाई सत्तरीको दशकपछि संरक्षण गर्न थालेसँगै अहिले यीनको संख्या बृद्धि भएर ३,५८० पुगेको छ । अहिले भारतका सात र नेपालका चार राष्ट्रिय निकुञ्जमा गैडा पाईन्छन ।

२) शारिरीक वनावट र आहारा : गैडा जमिनमा वस्ने दोश्रो ठुलो जनावर हो । यसको शरिरको तौल १,८०० देखि २,७०० किलोग्राम सम्म हुन्छ । यो घाँस खाने अर्ध–जलिय वन्यजन्तु हो । शरिरलाई वाक्लो छालाले ढाकेको हुँदा शरिरको तापक्रम सन्तुलनमा राख्न अधिकांश समय पानीमा बिताउने गर्दछ । गैडाको लागि सबैभन्दा उर्पयुक्त वासस्थान नारायणी, रापती, रिउ र तिनका सहायक नदी आसपासको घाँसे मैदान, नदीतटिय वन र सिमसार क्षेत्र हो । यसले बिभिन्न १८३ प्रजातीका वनस्पति खाने गरेको अध्ययनबाट देखिएको छ । वाढीग्रस्त क्षेत्रमा हुर्केको कलिलो काँस, दुवो, बरुवा, नरकट, सिरु र सिमसार क्षेत्रमा पाईने लेउ, झारहरु गैडाका मुख्य आहारा हुन । यसले सिंदुरे, कुटमिरो, गुटेलका फल र सिमलका फुल पनि खाने गर्दछ । गैडा राति सक्रिय हुने वन्यजन्तु हो । यसलाई चरनको अभाव हुने मुख्य समय कार्तिकदेखि माघ सम्म हो । त्यस समयमा गैडा आहाराको खोजिमा सात, आठ किलोमिटर टाढा सम्मका खेतबारीमा पुग्ने गरेको पाईएको छ ।

३) चरन क्षेत्र घट्दै : सन् १९५० को दशक सम्म चितवन, नवलपुरको २,६०० वर्ग किलोमिटर क्षेत्रफलमा बिचरण गर्ने गैडा अहिले करिव ५०० वर्ग किलोमिटर क्षेत्रफलमा मात्रै सिमित भएका छन । बिगतमा निकुञ्ज भित्र खरखडाई काट्ने तथा घरपालुवा पशुहरु चराउने हुँदा गैडाको लागि कलिलो घाँसको अभाव हुन पाउदैन्थ्यो । तर अहिले बिगतदेखि चल्दै आएका परम्परागत प्रक्रियाहरु अबरुद्ध भएका छन । निकुञ्ज भित्र माईकेनिया झार फैलिएको छ । झाडी बढेको छ । सिमसार क्षेत्रलाई जलकुम्भिले ढाक्दै लगेको छ । निकुञ्ज बाहिर रहेको गैडाको बासस्थान धानखेतिको बिस्तार, अबैध बसोवास, मोटरबाटो, तारवार, फुटवल मैदान, सामुदायिक भवन, खानेपानी टंकी, वनभोज स्थल र पार्क निर्माण गरेर अतिक्रमण र खण्डिकरण भैरहेको छ । घाँसे मैदान इकोसिष्टमको स्व–सञ्चालन र सन्तुलनका लागि मानिस र गाईबस्तु आबश्यक पर्र्दछन । अहिले पुरानो पद्धति हट्दै गएसँगै सन् सत्तरीको दशकमा निकुञ्जको कुल क्षेत्रफल मध्ये १८० वर्ग किलोमिटर घाँसेमैदान थियो भने अहिले करिव ८५ वर्ग किलोमिटर मात्रै बाँकी छ । गैडा हिँउदमा समेत आहाल वस्ने, झार, लेउ खाने र सिमसार छेउछाउको चिसो जमिनमा पलाएको घाँस खाने गर्दछ । यस्तो घाँस पलाउने सिमसार क्षेत्रहरु समेत धानखेतिको बिस्तारको कारण मासिदै गएका छन । बालिनालीको सुरक्षाको लागि लगाएको तारवारले गर्दा चरनको लागि रातको समयमा खेतवारीमा निस्कने बाटाहरु वन्द भएका छन ।

४) गैडाको संख्या : सन् १९७० को दशकमा झण्डै ८० को संख्यामा रहेका गैडा निकुञ्ज स्थापनापछि बढेर सन् १९८८ मा ३५८ वटा पुगेका थिए । गैडा बढ्दै गएर सन् २००० मा ५४४ पुगेकोमा त्यसपछि चोरी शिकारका कारण घटेर सन् २००५ मा ३७२ मा झरे । चोरी शिकार नियन्त्रण गरेपछि पुन गैडाको संख्या बढ्दै गएको छ । सन् २०११ को गणनामा ५०३ वटा गैडा रेकर्ड गरिएकोमा सन् २०१५ को गणनामा वढेर ६०५ वटा पुगेका थिए । यो चार वर्षको अबधिमा बृद्धि भएका गैडालाई आधार मान्दा चितवनमा गैडाको बार्षिक बृद्धिदर ४.२१ प्रतिशत रहेको छ । यो बृद्धिदरले चितवनमा बर्षेनी २५ वटा जति गैडाका वच्चा हुर्किने गरेको देखिएको छ ।

५) गैडाको मृत्यु र चरनको सम्बन्ध : अध्ययन प्रतिबेदन र उपलब्ध तथ्याङ्कको आधारमा हेर्दा गैडाको जन्मदर घट्ने र मृत्युदर बढेको देखिन्छ । चितवनमा बर्षेनी सरदरमा २१.८३ वटा गैडा मर्ने गरेको तथ्याङ्क छ । तर आ.व. २०७४÷७५ मा २५ वटा, आ.ब. २०७५÷७६ मा ४३ वटा, आ.ब. २०७६÷७७ मा २६ गैडा वटा मरे भने यस आ.व.को चार महिनामा १७ गैडा मरि सकेका छन । गैडा, घाँसे मैदान र सिमसार क्षेत्र अन्र्तसम्बन्धित छन । पूर्बि चितवनका सिमसार क्षेत्र सुक्दै जानाले गैडा पश्चिमतर्फ सर्दै आएको गैडा गणनाको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार बिगत तिन दशकमा त्यहाँ पाईने गैडाको संख्यामा आधाले कमि आएको छ । अहिले धेरैजसो गैडा निकुञ्जको पश्चिमी भेगमा नारायणी, रापती र रिउ नदी आसपासमा एकत्रित भएका छन । सानो क्षेत्रफलमा धेरै गैडा वस्नु पर्दा आहारा र प्रजननको लागि प्रतिस्पर्धा बढेको छ । फलस्वरुप भालेहरु जुधेर तथा भालेले वच्चालाई हिर्काएर बढी गैडा मर्ने गरेको पाईएको छ । पर्यटकिय गतिबिधिले भिडभाड बढेसँगै गैडाको दिनचर्या खल्वलिदै गएको छ । गैडा दिउँसो रुखमुनि शितलमा लुकेर वस्ने तथा आहालमा वस्ने गर्दछन । तर पर्यटकले पुर्याउने अबरोधका कारण गैडाले आराम गर्ने समय घटेको छ । मध्यबर्ती क्षेत्रका सामुदायिक वनमा मानिस जथाभावि पसेर गैडालाई जिस्काउने, लखेट्ने क्रम बढेको छ । गैडाले आफ्ना बच्चालाई औधि माया गर्दछ । तर झाडी बढेसँगै वच्चालाई भाले गैडा र बाघको आक्रमणबाट जोगाउन माउ गैडा जति खेर पनि चनाखो भएर बस्नु परेको छ । पर्या–पर्यटनका लागि गैडाको वासस्थानमा मानिसको प्रबेश बढेकाले प्लाष्टिक तथा सिसाजन्य फोहोर पनि वढेको छ । यी सबै दुष्प्रभावहरुको असरले गैडाको पहिलो वच्चा जन्माउने औषत उमेर बढ्दै गएको अध्ययनले देखाएको छ । सन् १९८२ मा लौरीले चितवनका गैडामा गरेको अध्ययनमा गैडाले पहिलो वच्चा जन्माउने उमेर ७.२ बर्ष उल्लेख गरेका छन भने सन् २००३ मा डिनरस्टरले गरेको अध्ययनमा ७.५ बर्ष उल्लेख छ । त्यसैगरी सन् २०१७ मा नरेश सुबेदी समेतले गरेको अध्ययनमा ७.९ बर्ष पुगेको उल्लेख छ । समग्रमा, गैडाको बासस्थानको गुणस्तर घट्दै गएसँगै जन्मदर घट्दै जाने र मृत्युदर बढेको पाईएको छ ।

६) चरन क्षेत्र ब्यबस्थापनमा बिलम्व : अन्य महिनाको तुलनामा हिँउदको समयमा बढी गैडा मर्ने गरेको पाईएको छ । यसको मुख्य कारण चिसो र चरनको अभावमा पेटभर घाँस खान नपाउनाले हो । सरकारी स्तरबाट गरिने घाँसे मैदान ब्यबस्थापनको काममा लामो कानूनी प्रक्रिया पुरा गर्नु पर्ने हुँदा फागुन अगाडी पुरानो घाँस काट्न सकिएको छैन । पुरानो बुढोघाँस समयमै नकाटे नयाँ घाँस पलाउँदैन । त्यसैले घाँसे मैदान ब्यबस्थापनको काममा सार्बजनिक खरिद ऐन, नियमाबलीका प्रक्रियाहरु छोट्ट्याउने बिशेष कानूनी ब्यबस्था गर्न आबश्यक छ । यसतर्फ नेपाल सरकारले समयमै ध्यान दिनु पर्ने देखिएको छ । मध्यबर्ती क्षेत्र ब्यबस्थापनको कामलाई अझै फराकिलो बनाई स्थानीय तह, सामुदायिक वन उपभोक्ता समुह र पर्यटन ब्यबसायीको समेत प्रतिनिधित्व हुन पाउने ब्यबस्था गरेमा मध्यबर्ती क्षेत्र ब्यबस्थापनका कार्यक्रमहरु बढि संरक्षणमुखि वनाउन सकिनेछ । समन्वय र सहकार्यको माध्यमबाट घाँसे मैदान ब्यबस्थापनको काम स्थानीय स्तरबाट समेत गर्न सकिनेछ । गैडालाई चरनको अभाव हुन नदिन घाँसे मैदान ब्यबस्थापनको कामलाई स्थानीयकरण गरौ । घाँसे मैदानको बहुउपयोग गरौ । गैडाको बासस्थान भएका सामुदायिक वन उपभोक्ता समुहहरुलाई घाँसे मैदान ब्यबस्थापनका काममा जति सक्दो धेरै सहभागि गराउँ । (लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत हुनुहुन्छ ।)

 

 

 

 

 

 

Promise Education Consultancy