ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जना पक्राउ

हेटौंडा : ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालक हेटौंडा-१८ का ३४ बर्षीय सन्तबहादुर जिम्मा, ट्याक्टरमा सवार ४७ बर्षीय आइतराम जिम्बा र हेटौंडा-१७ का २९ बर्षीय अशोक तामाङ रहेका छन् ।

प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलिले हेटौंडा-१८ भोर्लेस्थित धरान चतरा सडक खण्डमा हर्नामाडी तर्फबाट हटियातर्फ आउँदै गरेको ना ७ त ११३५ नम्बरको ट्याक्टर जाँच गरेको थियो ।

जाँचको क्रममा आवश्यक कागजात बिनाका चिलाउनेको ३२.०२ क्यू. फिट, कर्माको ७.०३ क्यू फिट गोलिया काठ समेत जम्मा ३९.०६ क्यू फिट गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ ।प्रहरीले बरामद गरिएको काठ, ट्याक्टर, तीन जना मानिसहरुलाई म्याद थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय मकवानपुर पठाएको छ ।