कालिकाको सातौं नगर सभामा दुई कार्यविधि र वन ऐन सर्बसम्मत पारित

चितवन २९ पुष । चितवनको कालिका नगरपालिकाको सातौ नगर सभा बुधवार सुरु भएको छ । नगर सभाले दुई वटा कार्यविधि र एउटा ऐन पारित गरेको छ । वन ऐन २०७७ तथा लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि २०७७ र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०७७ नगर सभाले पारित गरेको हो । नगर सभामा नगर प्रमुख खुमनारायण श्रेष्ठले ति कार्यविधि र ऐन सभा समक्ष पेश गरेका थिए । ति कार्यविधि र ऐनमा छलफल पश्चात पारित भएको प्रमुख श्रेष्ठले वताए । वन ऐन अनुसार अव पारिवारिक निजी वन दर्ता गर्न पाईनेछ । जसलाई स्थानीय सरकारले दर्ता प्रमाणपत्र दिन सक्ने उल्लेख छ । ऐनले सो वन भित्र काठ कटानी र ओसारपोसार स्थानीय सरकारबाट अनुमति लिएर मुलुकको जुन सुकै भागमा लगेर विक्री गर्न सक्ने तोेकेको छ । वडागत योजनाहरु संसोधन गर्नका लागि भने माघ ७ गते सम्मको समय दिईएको छ । सभामा नगर सदस्यहरुले बाटो निर्माण,भवन निर्माणका काम करिव सकिएको भन्दै अव फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्नु पर्ने वताए । जवाफमा नगर प्रमुख श्रेष्ठले फोहोर संकलन र व्यवस्थापनका लागि कार्यविधि तयार भईसकेकाले जिल्ला र केन्द्रको अनुमति कुरिरहेको वताए ।