विदेशमा निधन भएकाको परिवारलाई आइएमईको सहयोग

चितवन : विश्वव्यापी महामारी कोभिड १९ का कारण विदेशमा निधन भएका मकवानपुरका २ नेपालीको परिवारलाई आईएमई ले आर्थिक सहयोग गरेको छ । साउदी अरबमा निधन भएका सोहन कुमार गुरुङ र तुल बहादुर कामी का परिवारलाई राहत स्वरुप प्रति परिवार ५० हजार रुपैयाँको दरले नगद सहयोग प्रदान गरिएको हो ।

हेटौडाका गुरुङकी श्रीमती विष्णु माया गुरुङ र छतिवनका कामीका छोरा युवराज विश्वकर्मालाई आईएमई का क्षेत्रीय प्रमुख सुरज पौडेलले नगद सहयोग हस्तान्तरण गरे । विदेशमा निधन भएका नेपालीका परिवारलाई सहयोगका लागि आईएमई ले आईएमई भरोसा कोष स्थापना गरेको थियो । सोही कोष अन्तर्गत मकवानपुरका दुई परिवारलाई राहत रकम वितरण गरिएको क्षेत्रीय प्रमुख पौडेलले बताए ।

परिवार पाल्नकै लागि विदेश गएका व्यक्तिको उतै निधन हुँदा उक्त परिवारमा पर्न गएको वज्रपात को क्षतिपूर्ति त केहीले पनि गर्न सक्दैन, तर पनि तत्कालको लागि राहत स्वरुप आर्थिक सहयोग गरिएको पौडेलले बताए ।

आइएमईले विगतका वर्षहरुमा दशैं तिहार छठ लक्षित गरी सञ्चालन गर्ने गरेको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रम यस वर्ष नगरी भरोसा कोष खडा गरेको थियो । देशभरबाट प्राप्त आवेदन बाट छनौट भएका परिवारलाई सोही कोषबाट अहिले राहत रकम वितरण भइरहेको पनि पौडेलले बताए ।