अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव प्रस्तुत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिक रूपमा महाअभियोग प्रस्ताव प्रस्तुत गरिएको छ।

डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।

डेमोक्र्याटहरूले अमेरिकी संसद्‌मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई पनि आग्रह गरिएको छ।

उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरेका हुन्।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।

यदि पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने महाभियोग लगाउने प्रस्तावमा बुधवार मात्रै छलफल सुरु हुने डेमोक्रेटहरुले बताएका छन ।

महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आफूहरूसँग आवश्यक सांसद सङ्ख्या रहेको बताएका छन्।

तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषी ठहर्‍याउने या नठहर्‍याउने भन्ने बारे माथिल्लो सदन सिनेटमा सनुवाइ हुनेछ। त्यहाँबाट पारित हुन दुई तिहाई मत आवश्यक पर्छ । तर त्यो प्रक्रिया तत्काल टुङ्गोमा पुग्नेमा डेमोक्र्याटहरू नै विश्वस्त नदेखिएको बिबिसीले जनाएको छ ।