भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक सहयोग

चितवन, पुस २७ – भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक प्राप्त भएको छ । टिम नेपो चितवनले लियो क्लब अफ भरतपुर युथ र रोटरी क्लब अफ चितवनसँगको सहकार्यमा कारागारमा पुस्तक सहयोग गरेको हो ।

आज सोमबार एक कार्यक्रमका बीच टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् । ८०८ थान विभिन्न विधाका पुस्तकहरु कारागारलाई प्रदान गरिएको हो ।

नेपोले पुस्तक परियोजना अभियान सञ्चालन गरेर देशभर कारागारमा पुस्ताकालय निर्माण, पुनःनिर्माण तथा पुस्तक सहयोग गर्ने काम गर्दै आइरहेको अध्यक्ष पौडेलले जनाए । कारागारलाई सजाय केन्द्रमात्र नबनाइ सुधारगृह समेत बनाउने उद्देश्यले यो अभियान चलाइएको उनले बताए । चितवन कारागारका लागि पुस्तक संकलन गर्न लियो क्लव र रोटरी क्लवले सहयोग गरेको पौडेलले बताए ।

कारागारका प्रमुख काफ्लेले कारागारमा पुस्तक सहयोग गरेकोप्रति आभार प्रकट गर्दै पुस्तक पढ्न खोज्ने कैदीबन्दीहरु कारागारमा थुप्रै रहेको बताए । कारागारमा पुस्तक पढ्नेदेखि लिएर हस्तकलाको काम गर्नेसम्मका कैदीबन्दी छन् । यसअघि रहेको पुस्ताकालयमा ३०० जति पुस्तक रहेको उनले बताए । कारागारमा २ आश्रित बालिका र ५५ महिलासहित ६९१ कैदीबन्दी रहेका छन् ।

लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलल, चिकित्सक सङ्घका पूर्व केन्द्रीय सदस्य प्रा डा कृष्णप्रसाद पौडेल, रोटरी क्लवका रोशन पियालगायतको उपस्थिति रहेको थियो ।