बाघमारा मध्यवर्ती सामुदायिक वनको साधारण सभामा पर्यटन विकासमा जोड

चितवन : सौराहाको निकटमा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको १६ औं बार्षिक साधारण सभामा संरक्षण र पर्यटन विकासमा सहकार्य गर्ने उद्घोष गरिएको छ । साधारण सभाको रत्ननगर ७ पडेरियामा उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वन संरक्षण र पर्यटनको विकासको लागि सामुदायिक वनसंग सहकार्य गरेर पूर्वाधार निर्माण गर्ने योजना रहेको बताए ।

मेयर वनले चितवनमा पर्यटन प्रर्बद्धनका लागि बाघमारा सामुदायिक वनमा क्यानोपी वाक निर्माण गर्ने योजना रहेको बताए । निकुञ्जले क्यानोपी निर्माणको लागि स्विकृति दिन सकारात्मक देखिएको भन्दै उनले निकुञ्जबाट स्विकृति पाएलगतै बजेटको व्यवस्थापनमा लाग्ने बताए । वन्यजन्तुमा आधारित चितवनको पर्यटनमा क्यानोपी वाकले पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने उनको भनाई छ । निकुञ्जका सौराहा सेक्टर प्रमुख प्रकास उप्रेतीले नदिमा आश्रित समुदायलाई लक्षित गरी योजना बनाउनु पर्नेमा जोड दिए ।

 

मुसहर र बोटे समुदायलाई संरक्षणमा अग्रसर बनाउन आवश्यक रहेको भन्दै उनले नदिमा आश्रित समुदायको जीविकोपार्जनमा आधार बनाएर संरक्षण योजना बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्टले संरक्षणमा मजबुत बनाउन विकास र जीविकोपार्जनलाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा वनका अध्यक्ष जितु तामाङले पर्यापर्यटनबाट भएको आम्दानी मानव वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणसंगै स्थानीय समुदायको आयआर्जन र सुरक्षामा खर्च गर्दै आएको बताए ।

उनले वन र बस्तीको सिमानमा पर्खाल,सामुदायिक बीमा,वन्यजन्तु क्षति राहत तथा उपभोक्ताहरुको जीविकोपार्जन र आयआर्जनमा काम गर्दै आएको बताए । कार्यक्रममा सामुदायिक वनका सचिव कृष्ण भट्टले प्रगति प्रतिवेदन,कोषाध्यक्ष आशमान लामाले आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक विनोद खनालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । वनका अध्यक्ष जितु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीताराम महतोले स्वागत मन्तव्य राखेका थिए ।