वन्यजन्तु अस्पताल : उदाहरणीय कामको थालनी

शिकारीले गैंडा लगायतका बन्यजन्तु मारेर चितवन निकुञ्जमा सुरक्षा चुनौती थपिने गरेको छ । केही समय रोकिएको गैंडा तस्करी पछिल्लो समय फेरी सुरु भएको आकलन एक दुई वटा घटनाले देखाएको छ ।

सरकारले वन्यजन्तु जोगाउन भन्दै निकुञ्जमा गस्ती,शिकारीलाई नियन्त्रण र मध्यवर्तीका जनतालाई संरक्षणमा सहभागिता गराउने रणनीति सहित काम गर्दै आएको छ । संरक्षणमा जनसहभागिता,नेपाली सेना,निकुञ्जका अधिकारीको त्रिपक्षिय सहकार्यबाट निकुञ्जका गैंडा लगायत बन्यजन्तु संरक्षणको काम अगाडि बढिरहेको छ । तर सुरक्षा चुनौती पनि उत्तीकै छ ।

एकतिर संरक्षणकर्मीहरु जोगाउन तलिन हुने र अर्को तिर गैंडा मार्न शिकारी सक्रिय हुने प्रबृतिका कारण संरक्षणमा चुनौती कायमै रहेको अनुभव संरक्षणकर्मीहरुले गरेका छन । सरकारको ध्यान शिकारीबाट बन्यजन्तु जोगाउने तर्फ गइरहदा विभिन्न कारणले घाइते भएर बन्यजन्तु मरेको प्रति सरकारको ध्यान अहिले सम्म जान सकेको थिएन । निकुञ्जका घाइते भएका वन्यजन्तुहरु उचित उपचार पाएर बाचेको घटना परिघटना एकदमै कम छ ।

गैंडा घाइते भयो भने बाच्ने सम्भावना १० प्रतिशत पनि नरहेको विगतका घट्नाले पुष्टि गरेका छन । घाइते भएको जनावरलाई निकुञ्जले बनाउन सकेको छैन । यसैवीचमा सरकारले बन्यजन्तुको उपचारको लागि चितवनको सौराहामा वन्यजन्तु अस्पताल सञ्चालनमा ल्याएर उदाहरणीय कामको सुरुवात गरेको छ । नेपालमा नै पहिलो पटक सञ्चालनमा आएको वन्यजन्तु अस्पतालमा रोगी,अशक्त,घाईते वन्यजन्तुहरुले उपचार पाउने भएका छन् ।

वन्यजन्तु रोगको अनुसन्धान समेत गरिने भएकाले सो अस्पतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई तल पक्की अस्पतालको ३ करोड ९० लाख ८४ हजार रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो अस्पतालमा अस्पतालमा चार चिकित्सक र सात प्राविधिक ओपिडी,एक्स–रे, प्रयोगशाला,अप्रेशन, डिस्पेनसरी, पोटएवल एक्स रे र अल्ट्रा साउण्ड, रगतको परीक्षण लगायतका सेवा सञ्चालन हुने छन ।

अस्पतालमा हात्ती,बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको उपचार हुने छ । बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुञ्जेल अस्पतालमै राखेर पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै छाड्ने योजना सहित सञ्चालनमा आएको अस्पताल वन्यजन्तुको मृत्यु दर घटाउन सहयोग सिद्ध हुने विश्वास लिइएको छ ।

अस्पताल सञ्चालनमा आएपछि घाइते र रोग लागेर अमुल्य निधि बन्यजन्तुहरुले अकालमा ज्यान गुमाउनु पर्ने छैन । यो अस्पताल सञ्चालनमा आएसंगै संरक्षणको कार्यमा अनुभव गरिदै आएको अपूर्णतालाई पूर्णतामा परिणत गरेको छ । निकुञ्जमा तस्करहरु सल्वलाई रहेका बेला संरक्षणको इतिहासमै अस्पताल निर्माण हुनेले संरक्षणकर्मीहरुलाई उत्साहित बनाएको छ ।