चर्चित गीतकार प्रेमविनोद नन्दन सम्मानित

चितवन : चर्चित गीतकार एवम् साहित्यकार प्रेमविनोद नन्दन सम्मानित हुनुभएको छ । गीतकार संघ नेपालले दशौैँ वार्षिकोत्सवको अवसर पारेर नन्दनलाई आज(शनिबार) राष्ट्रिय स्रष्टा सम्मान गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्मानपत्र र १ लाख ५१ हजार रुपैयाँ बराबरको चेक प्रदान गर्नुभयो । नन्दनको जन्म १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा भएको हो । उहाँ हाल नारायणगढमा बसोबास गर्नुहुन्छ ।

नन्दनले २०११ मा झटारो गीतसंग्रह, २०१५ मा अञ्जली, विपनीका पाइलाहरु गीत कवितासंग्रह, २०२३ मा सपनीबाट ब्युँझेर गीतसंग्रह, २०६३ मा ऐनाभित्रको आकाश गीतसंग्रह, भीडमा एक्लै एक्लै गजलसंग्रह, २०७४ सिद्धार्थको गृहत्याग लघुकथा कृतिहरु प्रकाशित भैसकेका छन् । उहाँ चितवन साहित्य परिषद्, नारायणी कला मन्दिरका पूर्वअध्यक्ष हुनुहुन्छ ।

यसैबीच नन्दनको नयाँ कवितासंग्ह पत्रम् पुष्पम् समेत लोकार्पण गरिएको छ । गीतकार तथा साहित्यकार नन्दनलाई कविवर माधव घिमिरेले गोलसिमलको संज्ञा दिनुभएको थियो । सम्मानित नन्दनले गीतकार संघबाटै सम्मानित हुनपाउँदा निकै खुशी भएको बताउनुभयो । साधनारत सबै स्रष्टाहरुलाई उर्जा थपिएको प्रतिक्रिया दिनुभयो ।

८५ वर्ष पुग्नुभएका नन्दन काव्यसृजनामा सक्रिय हुनुहुन्छ । यसैबीच गीतकार संघ नेपालले सर्वोत्ृकट गीतका रुपमा थाहा छैन जीन्दगीमा बोलको गीतका गीतकार महेश आचार्यलाई नगद ५७ हजार, बेल्जियमलाई कर्मथलो बनाउनुभएका गीतकार अर्जुनरत्न भिखारीलाई डास्पोरा गीतकार सम्मान र नगद १५ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।

यसैगरी वर्षगीत पुरस्कारका रुपमा १० जना गीतकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा अरुण तिवारी, किरण टी लिम्बू, डा. डीआर उपाध्याय, दिनेश सुवेदी, प्रकाश दुमी राई, भूपेन्द्र महत, महेश आचार्य, युवराज अधिकारी, रमेश दाहाल र एच. के. धिताल हुनुहुन्छ । गीतकार संघको अक्षयकोषमा संगितकार सुनिल मास्केले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । गीतकार संघको अक्षयकोषमा हालसम्म ३० लाख रुपैयाँ पुगिसकेको सचिव सुशिला पौडेलले बताउनुभयो ।