चितवनमा सडक दुर्घटनामा परी चार महिनामा ३६ जनाले ज्यान गुमाए

चितवन :  चितवन जिल्लामा सडक दुर्घटनामा परी पछिल्लो चार महिनामा ३६ जनाले ज्यान गुमाएका छन । चालु आर्थिक बर्षको चार महिनामा सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको र घटनामा २३६ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । घटनामा ८० जना गम्भीर गाइते भएका छन । चार महिनामा १४० वटा दुर्घटनामा ३६ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

मृत्यु भएका ३६ जना मध्य १२ जना पूर्वी चितवनका रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । पूर्वी चितवनको टिकौली देखि लोथर सम्मको २५ किलोमिटर सडकमा अत्याधिक दुर्घटना हुने गरेको छ । सधुरो सडक,सवारी साधनको चाँप र तीब्र गतिका कारण सो सडक खण्डमा पछिल्लो समय दुर्घटना बढेको प्रहरी निरीक्षक भट्टले बताए । आर्थिक बर्ष २०७६÷७७ मा चितवनमा १०७ जनाको सडक दुर्घटनाका कारण मृत्यु भएको छ भने ४८५ जना घाइते भएका थिए ।

कार्यक्रममा सडक दुर्घटनाको अबस्था,न्यूनीकरणका उपायहरुको विषयमा कार्ययोजना प्रस्तुत गर्दै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी प्रहरी उपरीक्षक शान्तिराज कोइरालले सवारी दुर्घटना न्यूनीकरणको लागि स्थानीय सरकारसंग सहकार्यको नीति अबलम्बन गरिएको बताए । उनले दुर्घटना न्यूनीकरणको लागि प्रविधिमैत्री सडक निर्माण गर्ने योजना रहेको बताए ।

चितवनमा सवारी दुर्घटना न्यूनीकरणको लागि मकवानपुर र चितवनको सिमानामा पर्ने लोथरमा राप्ती नगरपालिकाको सहकार्यमा चेकप्वाइन्ट राख्ने,खैरहनी नगरपालिकाको सहकार्यमा लामो दुरीबाट आएका सवारी साधनलाई केही समय राख्ने गरी खैरहनीमा रिफ्रेस सेन्टर निर्माण गर्ने,रत्ननगर नगरपालिकाको सहकार्यमा राजमार्गमा आधुनिक उपकरण जडान र ट्राफिक सचेतना बोर्डको व्यवस्थापन गर्ने,कालिका नगरपालिकाको सहकार्यमा ट्राफिक संकेट वोर्ड राख्ने योजना रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।