‘मेराे प्रतिवेदनकाे छिनाेफानाे गर्ने अधिकार कमिटीलाई मात्रै छ’ : प्रचण्ड

– शिशिर ढकाल, काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीलाई स्थायी कमिटी बैठक सामना गर्न प्रचण्ड -माधव गठबन्धनले दबाब दिएका छन् । मंगलबार बालुवाटारमा भएको छलफलमा प्रचण्ड माधव समूहले स्थायी कमिटी बैठकको सामना गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डको प्रस्ताव व्यक्तिगत लाञ्छनामा केन्द्रित रहेकाले माफी मागेर प्रतिवेदन फिर्ता गर्नुपर्ने अडान ओलीले लिएका छन् । ‘व्यक्तिगत लाञ्छनामा केन्द्रित प्रतिवेदन फिर्ता गरेर माफी माग्नुपर्छ अनि सौहार्द रूपमा बैठकको परिस्थिति बन्छ,’ ओलीले बैठकमा भनेको सचिवालय सदस्य विष्णु पौडेलले बताए ।

ओलीलाई जवाफ दिँदै प्रचण्डले आफ्नो प्रतिवेदन सही वा गलत पार्टी कमिटीले निर्णय गर्ने बताएका थिए । ‘मेराविरुद्ध गरिएका घोचपेचका जवाफ मैले दिएको हुँ । यो मेरो मात्रै प्रतिवेदन होइन । हामी पाँच जनाको तर्फबाट आएको प्रतिवेदन हो, यो ठीक वा बेठीक भन्ने निर्णय पार्टी कमिटीले मात्रै गर्छ । व्यक्तिगत निष्कर्ष पार्टीले स्वीकार गर्दैन,’ प्रचण्डले बैठकमा भनेका थिए ।

अब यी प्रतिवेदनलाई स्थायी कमिटी बैठकमै लाने स्पष्ट सन्देश प्रचण्डले दिएका छन् । ओलीले भने सचिवालय बैठकमार्फत नै सुल्झाउन प्रयत्न गर्ने र सकभर स्थायी कमिटी बैठकलाई छल्ने रणनीति बनाएका छन् ।

स्थायी कमिटी बैठक बस्ने वा नबस्ने भन्ने अन्याेल अझै रहेको महासचिव पौडेलको भनाइ छ । ‘स्थायी कमिटी बैठकको समय त निर्धारित नै छ । तर, भोलि फेरि सचिवालय बैठक आह्वान भइसकेकाले त्यसपछि विकसित हुने घटनाक्रमका आधारमा थप निर्णय हुन्छ,’ पौडेलले भने ।

किन चाहन्छन् प्रचण्ड-माधव स्थायी कमिटी बैठक ?

अहिले कसकाे प्रतिवेदन सही वा कसको गलत भन्ने विषयमा विवाद केन्द्रित छ । प्रचण्ड-माधव पक्षधरले आफूले उठाएका माग सही भएकाले ओली सच्चिनुपर्ने माग गरेका छन् । उनीहरूले ओलीको कार्यशैली ‘इनफ इज इनफ’ भएको भन्दै अब धेरै सहन नसकिने स्पष्ट सन्देश दिएका छन् ।

यता, ओली भने प्रतिवेदन कुण्ठा र आक्रोशमा केन्द्रित भएकाले फिर्ता लिएर माफी माग्नुपर्ने पक्षमा अडिग छन् । प्रचण्ड-माधव समूह ओलीको ‘सर्वसत्तावादी’ शैलीको अन्त्य गर्नुपर्ने पक्षमा छन् ।

स्थायी कमिटीमा आफ्नो बहुमत रहेकाले त्यहाँमार्फत ओलीलाई कारबाहीको सिफारिस गर्ने उनीहरूको रणनीति छ । ‘दुवै अध्यक्षले आफ्ना प्रतिवेदन औपचारिक रूपमा सचिवालयमा पेस गर्नुभएको छ । अब ती प्रतिवेदन पार्टी विधान प्रणालीअनुसार कमिटीका सम्पत्ति हुन् । त्यसमा पार्टी कमिटीले छलफल गरेर को सही को गलत भन्ने निर्क्याेल विधिवत् ढंगले गर्न पाउनु कमिटीको अधिकार नै हो,’ नेता भीम रावलले भने ।

यस्तै, स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कसको प्रतिवेदन सही गलत भन्ने कुराको निर्णय गर्ने अधिकार पार्टी कमिटीलाई भएको तर्क गरे । ‘आफूमाथि लागेका आरोप स्वीकार सहज रूपमा कसैले पनि गर्दैन । व्यक्तिगत रूपमा प्रतिवेदन ठीक छैन भन्ने तर्क होला तर पार्टीको सम्पत्तिका रूपमा दर्ता भएका प्रतिवेदनका आधारमा को कति सच्चिनुपर्ने भन्ने निर्णय त कमिटीमा हुने विस्तृत छलफलबाट नै निर्क्यौल हुन्छ । यसमा छलफल गर्ने र निष्कर्ष निकाल्ने अधिकार कमिटीलाई छ । आफ्नो अधिकारको प्रयोग कमिटीले गर्न पाउनुपर्छ,’ ज्ञवालीले भने ।

यस्तै, स्थायी कमिटी सदस्य मात्रिका यादवले अध्यक्ष ओलीले कारबाही गर्न चुनौती दिएको र प्रचण्डले माफी माग्नुपर्ने अडान लिएकाले को केको भागिदार हुने भन्ने निर्णय पार्टी कमिटीबाटै हुने भएकाले बैठक आवश्यक भएको बताए । ‘अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई कारबाहीको चुनौती दिनुभएको छ र प्रचण्डले प्रतिवेदन फिर्ता गरेर माफी माग्नुपर्ने उहाँको माग छ, यादवले भने, ‘प्रचण्डले माफी माग्ने वा ओली कारबाहीको भागिदार हुने भन्ने कुरा त कमिटीमा विस्तृत छलफलपछि मात्रै तय हुन्छ । ओलीको मागले मात्रै माफी माग्ने कुरा हुँदैन । कमिटीले प्रचण्डलाई माफी माग्नु भन्यो भने प्रचण्ड त्यसका लागि तयार हुनुपर्छ । यो विषयको छिनोफानो गर्न कमिटी बैठक बस्नैपर्छ ।’

४४ सदस्यीय नेकपा स्थायी कमिटीमा प्रचण्ड-माधव पक्षको स्पष्ट बहुमत छ । ओली पक्षमा ११ जना सदस्य छन् । आफ्नो प्रतिवेदन पारित नहुने र उस्तै अवस्थामा कारबाहीको भागेदारसमेत हुनुपर्ने परिस्थिति आउने भएकाले ओली स्थायी कमिटी बैठक राख्ने पक्षमा छैनन । ‘पार्टीभित्र दुवै अध्यक्षले आ-आफ्ना असन्तुष्टि खुलेरै राखिसक्नुभएको छ । अब दुवै अध्यक्षले आफ्ना कमीकजोरीलाई सुधारेर अघि बढ्नुपर्छ । पार्टी विभाजनको पक्षमा दुवै अध्यक्ष हुनुहुन्न । त्यसैले विवादलाई सचिवालयमार्फत नै टुङ्ग्याउनु निको हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने ।

आफूमाथि संकट आइपर्ने देखेपछि ओलीले सचिवालय बैठकमा ‘२६ भदौ’मै फर्किनुपर्ने अडानसमेत अघि सारेका छन् । यता, प्रचण्ड माधव पक्ष भने एक पटक त्यो सहमति उल्लंघन भइसकेकाले आश्वस्त हुन नसकिने भन्दै नयाँ रणनीतिका साथ अघि बढ्ने तयारीमा छन् ।

उनीहरूले पार्टी कमिटीको मार्गनिर्देशनअनुरूप नेतृत्व चल्नुपर्ने भन्दै स्थायी कमिटी बैठक छल्न लागेका ओलीलाई बैठकको दबाब दिइरहेका छन् । नेकपाको स्थायी कमिटी बैठक १८ मंसिरका लागि तय भएको छ । यो बैठकको ओलीले सामना गर्लान् वा गत १३ साउनजस्तै एकलौटी रूपमा स्थगित गर्लान् नेकपाभित्र संशय छ ।