प्रदेश ट्राफिकले दुर्घटना न्यूनिकरण गर्न सरोकारवालालाई गरायो प्रतिवद्धता, नयाँ कार्ययोजना तत्काल लागू गर्ने

विनोद श्रेष्ठ, चितवन : जिल्लामा हुने बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न पूर्वी चितवनका सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन्। पछिल्लो समय दिनानु दिन बढि रहेको दुर्घटना कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारे पूर्वी चितवनमा सरोकारवालासँग छलफल गरिएको थियो।

सवारी दुर्घटनाको स्थिति र न्यूनिकरणका उपायका सम्बन्धमा रत्नननगर नगरपालिकाको सभा हलमा गरिएको छलफलमा यस क्षेत्रका सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ संस्था, पत्रकार, यातायात व्यवसायीलगायतका सरोकारवालाहरूले दुघटना न्यूनिकरणमा प्रतिवद्धता जनाएका हुन् ।
उनीहरुले प्रविधिमैत्री बन्दै सवारी दुर्घटना न्यूनिकरण गर्न आवश्यक रहेको तर्क पनि गरे । सडक दुर्घटना न्यूनिकरण गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न स्थानिय तह र प्रहरी एकैसाथ अगाडी बढ्न सरोकारवालहरुले माग पनि गरेका छन् ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयूक्त आयोजनामा पूर्वी चितवनका सडकहरुमा हाल भई रहेको गम्भिर प्रकृतिका सवारी दूर्घटना र त्यसबाट भईरहेको मानविय क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यले आयोजित कार्यक्रममा हुननसक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागि विभिन्न निर्णयहरू समेत गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र ट्राफिक प्रहरीको सहयोगमा गाउँ, समुदाय र विद्यालय स्तरमा ट्राफिक चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। ट्राफिक नियमको पूर्ण पालना गर्दै छतमा यात्रु नराख्ने, सवारी चलाएको समयमा मोबाइल फोनको प्रयोग नगर्ने, ट्रकलगायतका ढुवानीका सवारीमा यात्रु नराख्ने, सवारीलाई आवश्यक मर्मत गरेर मात्र चलाउनु पर्ने निर्णय गरिएको छ।

त्यस्तै रुट परमिट नलिएका कुनै पनि प्रकारका सवारी साधनहरूको सञ्चालनमा पूर्ण रोक तथा घुम्ती बाटोहरूमा सवारी साधन पार्र्किङ नगर्ने÷नगराउने, सडकमा जथाभावी राखिएका निर्माण सामग्री र छाडा चौपाया नियन्त्रण गर्नेलगायतका निर्णय गरिएको वागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख शान्तीराज कोईरालाले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सासंद कृष्ण खनालले स–साना लापरबाहिले पनि दुर्घटना हुने गरेको भन्दै चालक र व्यवसायीलाई तालिम आवश्यक रहेको बताउनुभयो।

यस्तै प्रदेश सासंद कञ्चन खनालले दुर्घटना न्यूनिकरणका विषयमा आ–आफ्नो ठाउँबाट सबैले प्रयास गर्नुपर्ने धारणा राख्नुभयो। किनेको सवारी चालक अनुमति पत्रले कहिल्यै पनि राम्रो नगर्ने भन्दै उहाँले चालक र यातायात व्यवसायीले अनुशासनपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ प्रविधिमैत्री भई ट्राफिक व्यवस्थापनमा आफ्नो स्थानिय तह अग्रसर बनेको बताउनुभयो । यस्तै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले ट्राफिक व्यवस्थापनमा केन्द्र सरकारले मुख्य राजमार्गहरु समयमा नै मर्मत नगर्दा र क्षमता विस्तार नगर्दा समस्या आएको भन्दै स्थानिय तहलाई नै राजमार्ग पर्ने क्षेत्रमा कर उठाउन दिए समस्या हल हुने बताउनुभयो ।

यस्तै राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले केन्द्र र प्रदेश सरकार पूर्वी चितवनको २५ किलो मिटर सडक समयमा मर्मत र विस्तार नगर्दा दुर्घटना बढेको बताउनुभयो । उहाँले गल्ती गर्ने चालकलाई कारवाहीको व्यवस्था हुनुपर्ने बताउनुभयो।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भटट्राईले स्थानिय तह चनाखो बनेर प्रविधि मैत्री बने सडक दुर्घटनामा कमी आउन सक्नेमा जोड दिनुभयो । उहाँले क्षमताभन्दा बढी यात्रु राख्ने, एक हजार तिरेपछि छुट पाइन्छ भन्ने मान्यताले पनि नागरिकले असुरक्षित यात्रा गर्नु परेको बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सो क्षेत्रमा दूर्घटना न्यूनीकरणका लागि आवाश्यक कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले आफुहरुले बनाएको नयाँ कार्ययोजना तत्काल लागु गर्न सबैले सहकार्य गर्न अपिल पनि गर्नुभयो । कार्यक्रममा चितवन प्रहरी प्रमुख नान्तीराज गुरुगं, डिएसपी रविन कार्की लगायतको विशेष सहभागी थियो ।