अटो दुर्घटना हुँदा एक बालकको मृत्यु, ३ जना घाइते

सिन्धुली : सिन्धुलीमा अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो दुर्घटना हुँदा स्थानीय हेम कुमरका ३ वर्षीय छोरा भुबन कुमारको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्यामकुमार केसीका अनुसार बिहीबार राती भएको दुर्घटनामा घाइते भएका बालकको सुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हेम कुमरसहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो अनियन्त्रित भइ सडकको नालामा पल्टिएर दुर्घटना भएको खत्रीले जनाए । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।