पर्यटन क्षेत्रमा आशाको किरण

सम्पादकीय : कोरोना भाइरसको प्रभावका कारण सबै भन्दा बढी नेपालको पर्यटन क्षेत्र प्रभावित भयो । अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास भइरहेको पर्यटन व्यवसाय प्रभावित हुँदा त्यसको असर व्यवसायीलाई मात्र परेन,राज्य सञ्चालनमा समेत समस्या आइप¥यो । दशबर्षे जनयुद्ध,जनआन्दोलन,भूकम्प र नाकाबन्दीमा समेत जीवित रहेको नेपालको पर्यटनलाई कोरोना महामारीले सिथिल बनाइदियो । ज्यान जोगाउन घरको कोठामा सिमित हुनु पर्दा चलायमान व्यवसायको रुपमा रहेको पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थलियो । करिब आठ महिना पर्यटकलाई सेवा प्रदान गर्ने पर्यटकीय होटलहरुका गेट बन्द भए ।

पर्यटन क्षेत्रमा अर्बौको लगानी छ । कोरोना भाइसरको प्रस्थान विन्दु अनिश्चित भएसंगै नेपाली पर्यटन उद्योगको भविश्य पनि अनिश्चित जस्तै भएको थियो । पर्यटन क्षेत्रमा सन्नटा अझै कायमै छ । कोरोना भाइरस विरुद्धको खोपको विकास नभए सम्म विश्व पर्यटन उद्योगले गति लिन सक्ने अबस्था छैन । विश्वमा महाराष्ट्रहरुले खोप बनाउने र त्यसको परीक्षण गर्ने चरणमा छन् । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको खोपको विकास र परीक्षणको अबस्था हेर्दा नेपालमा कोरोना विरुद्धको खोप कहिले आउने हो भन्ने एकिन गर्न सकिदैन । पर्यटन क्षेत्रमा अन्यौलता कायमै छ । अन्यौलताका बीचमा पनि नेपाल सरकारले पर्यटन क्षेत्र खुल्ला गरेको छ ।

८ महिना थलिएको पर्यटन उद्योगमा क्रियाशिल व्यवसायीहरुले होटलका ढोका खोलेका छन,तर अपेक्षाकृत पर्यटक आएका छैनन् । नेपालको पर्यटन अझै पनि विदेशी पर्यटकमा निर्भर छ । विदेशी पर्यटक नआउने हो भने यहाँ ठुलो लगानीमा सञ्चालन भएका होटलहरुले खर्च धान्न पनि सक्ने अबस्था छैन् । सरकारले हवाइ उडान खुल्ला गरेको छ तर पर्यटकहरुमा अझै पनि घुम्न जाउँ भन्ने आत्मविश्वास पैदा हुन सकेको छैन् । सरकारले पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन आन्तरिक पर्यटकलाई प्रर्बद्धनलाई जोड दिएको छ ।

सरकारी,गैरसरकारी,शिक्षक तथा निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई विदा पर्यटन मार्फत आन्तरिक पर्यटन प्रवद्र्धनमा प्रोत्साहन गर्ने सरकारको तयारी छ । यद्यपी सो काम अझै सुरु हुन सकेको छैन । पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकहरु देखा पर्न थालेका छन । यसले पर्यटन क्षेत्रमा आशाको किरण देखिन थालेको छ । पर्यटकीय गन्तव्यमा अहिले देखिएका पर्यटकहरुले व्यवसाय चल्ने अबस्था छैन,त्यसैले परिवार सहित पर्यटन क्षेत्र अबलोकन गर्ने वातापरण सरकारले बनाउनु पर्ने अबस्था छ ।

चितवनको पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीहरुले आन्तरिक पर्यटकको प्रर्बद्धनका लागि घुमौ सौराहा र छुट प्याकेज घोषणा गरेका छन । यसले यहाँको पर्यटन जुरुकै नउठे पनि चलायमान हुने कुरामा विश्वास गर्न सकिन्छ । पर्यटन व्यवसाय अब पुरानै शैलीमा चल्दैन । कोरोनापछि पर्यटन व्यवसायमा पनि परिर्वतन हुन जरुरी छ ।

विगतमा जस्तो ठुलो समुहमा पर्यटक भ्रमणमा आउने सम्भावना न्यून हुन्छ । अबको पर्यटन सानो समुहलाई प्रर्बद्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । पर्यटन व्यवसायीले अब विज्ञापन भन्दा पनि सुरक्षित हुनुहुन्छ भन्ने सन्देश दिन आवश्यक छ ।