युरोप बस्न पोर्चुगललाई सिँढी बनाउँदै नेपालीहरू

एजेन्सी :झन्डै साढे छ हजार मानिसको बसोबास रहेको पोर्चुगलको सानो कृषि बजार साउ तेयोतोनियोमा बिहान साढे नौ बज्नासाथ स्कुलको घन्टी बज्छ।

‘यो अरूजस्तै सामान्य स्कुल हो,’ टिफिन बेला बाहिरिएका केटाकेटीको कल्याङमल्याङ आवाजबीच हेडमास्टर रुइ डायस कोयल्हो भन्छन्, ‘एकथोक चाहिँ यहाँ फरक छ।’
कक्षाकोठाबाट बाहिरिएको भीडमा स्वाभाविक रूपले पोर्चुगिज भाषा नै बढी सुनिन्छ। तर, यसबीच कताकति नेपाली, हिन्दी, बंगाली र अंग्रेजी भाषाका आवाज पनि त्यो हावामा मिसिएर बगिरहेको हुन्छ।

हेडमास्टर कोयल्होले भनेको एउटा फरक विशेषता यही हो। यो स्कुलका एकतिहाइभन्दा बढी विद्यार्थी पछिल्लो समय पोर्चुगल आइपुगेका आप्रवासी कामदारका केटाकेटी हुन्।
यसमा फाट्टफुट्ट फ्रान्सेली र जर्मनेली भाषा बोल्ने पनि नभएका होइनन्। तर, ठूलो संख्यामा भेटिने बालबालिका दक्षिण एसियाली मुलुकहरूबाट मजदुरी निम्ति पोर्चुगल आइपुगेका कामदारका केटाकेटी हुन्। ती कामदार पोर्चुगलको बढ्दो ‘ग्रीनहाउस उद्योग’ मा काम गर्छन्।

सन् २०११ मा लिइएको जनगणनाको दाँजोमा यो ठाउँको जनसंख्या अहिले हजारौंले बढिसकेको छ। ठूल्ठूला आँखा र कालो लामो कपाललाई गुलाबी रबरले चुल्ठी पारेकी १२ वर्षीया नइमा बंगलादेशबाट तीन साताअघि मात्र यो स्कुलमा आइपुगेकी हुन्।

‘उनले अझै पोर्चुगिज भाषा बोल्न जानिसकेकी छैनन्,’ छेउमै बसेकी भारतकी १३ वर्षीया सनाया र १२ वर्षीया नेपाली लतिकाले एकै स्वरमा भने। उनीहरू आपसमा घनिष्ट देखिन्थे।

सनाया र लतिका तीनवटा भाषा बोल्न जान्दा रहेछन्। पोर्चुगिज भाषा पनि खरर पानी बनाइसकेका। तर, यी तीन संगिनी साथमा बस्दा हिन्दी र अंग्रेजी मिसमास गरेर संवाद गरिरहेका थिए। भारतीय र नेपाली दुवै बालिका बितेका पाँच वर्षदेखि यस विद्यालयमा अध्ययनरत छन्। तर, यति लामो समय स्कुलमा बिताएको उदाहरण कमै पाइन्छ।
‘दक्षिण एसियाबाट मजदुरी गर्न आएकाहरूका यी केटाकेटीले प्रायः दुई वा तीन वर्ष मात्र स्कुलमा बिताउने गरेका छन्,’ हेडमास्टर कोयल्हो भन्छन्, ‘मौसमी काम गर्न आउने अभिभावकहरू जसै बसाइँ सरेर अन्त जान्छन्, तिनका केटाकेटी पनि स्कुलबाट बाहिरिन्छन्।’

पढाइ पूरा नगरी स्कुल छाड्ने यो प्रवृत्ति रोक्न चाहेर पनि केही गर्न नसकेकोमा उनी लाचारी व्यक्त गर्छन्।

हेडमास्टर कोयल्हो मात्र होइन, स्कुलका भएभरका शिक्षक-शिक्षिका र कर्मचारी जहिल्यै व्यस्त देखिन्छन्। कारण एउटै छ, प्रायः सबैजसो केटाकेटीले यहाँ आउँदा पोर्चुगिज वा अंग्रेजी भाषा बोल्न जानेका हुँदैनन्। उनीहरू एकैपटक स्कुलका शिक्षकहरूको जिम्मामा आइपुग्छन्। ती शिक्षकले केटाकेटी र तिनका अभिभावकसँग संवाद गर्न साझा भाषाधरि जानेका हुँदैनन्।

त्यसो भए संवादको यो जटिलता चिर्ने काम कसरी हुन्छ त?

‘उही गुगल त हो,’ जवाफमा हेडमास्टर कोयल्होले सुनाए।

परिस्थितिअनुसार विद्यालयले पनि पाठ्यक्रममा केही हेरफेर गरेको छ। जस्तो- पोर्चुगिज भाषा बोल्नेका निम्ति नियमित पाठ्यक्रममै पढाइ हुन्छ। अन्य भाषीहरूका लागि भने पोर्चुगिजलाई विदेशी भाषाको वर्गीकरणमा राखिन्छ र सातामा केही कक्षा पढाइन्छ।

सांस्कृतिक विविधताले भरिएका विद्यार्थीहरू घुलमिल हुन सकोस् भनेर स्कुलले तानिया सन्तोष नामकी संस्कृति मध्यस्थकर्तासमेत राखेको छ।

‘विद्यालयको मूलआधार नै आपसी सञ्चार हो,’ तानिया भन्छिन्, ‘हामीले आफूहरूबीचको पर्खाल ढाल्दै लैजानु अति आवश्यक छ।’

तानियाका अनुसार त्यस्ता पर्खाल विद्यालयका परिसरभन्दा बाहिर उनीहरूका आ–आफ्ना समुदायमा भने स्पष्ट देखिन्छ।

फलफूल खेती गर्न आएका आप्रवासी कामदारका केटाकेटी पोर्चुगिज भाषा सिक्दै। यही कक्षाकोठामा बेलुकी कामदारहरू पनि भाषा सिक्ने गर्छन्।
साना आकारका कृषि मासिँदै

साउ तेयोतोनियो अर्थात् अरेबिक भाषामा यो ठाउँको नाम ‘राजकुमारको नदी’ हो। यो ठाउँ मुलुककै दक्षिण पश्चिमी अलेन्तेजो भेगमा पर्ने ग्रामीण नगरपालिका ओडेमिराअन्तर्गत पर्छ। आन्ध्र महासागरको सुदूर भेगसँग जोडिएको यो ठाउँको नामकरणमा यहाँ पाँच शताब्दीसम्म शासन गर्ने मुसलमान शासकहरूको देन छ।

यहाँका अधिकांश बासिन्दा धमाधम बुढ्यौलीतर्फ लम्कँदै छन् भने यहाँका साना खेतीपाती पनि क्रमशः लोपोन्मुख हुँदै गएका छन्।

तन्नेरीहरू हुर्कन नपाउँदै सहर बजारमा पढ्न गइहाल्छन्। त्यसरी गएकामध्ये थोरै मात्र फर्किन्छन्। फर्केकाहरू पनि स्थानीय पर्यटन वा अन्य सेवा उद्योगमा संलग्न हुन बढी रुचि देखाउँछन्।

यो स्थान पोर्चुगलकै एउटा महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको ‘भिसेन्टिन कोस्ट नेचुरल पार्क’ सँग नजिक छ। त्यसैले यो ठाउँ जैविक विविधता र अनौठा प्राणीहरूले भरिएको छ। यहाँ संसारमै अन्त कतै नपाइने दर्जनौं जातिका जीव भेटिन्थ्यो। अर्कातर्फ यस भेगमै औद्योगिक स्तरमा गरिने कृषि ‘ग्रीनहाउस फार्मिङ इन्डस्ट्री’ को प्रभाव बढ्दै गएको छ।

मौसम तथा जलवायु निम्ति अत्यन्तै अनुकूल मानिने अमेरिकाकै प्रसिद्ध राज्य क्यालिफोर्नियासँग याे स्थानको हावापानी समान रहेको बताइन्छ। यही विशेषताले करिब १५ वर्षअघि यस ठाउँले बेरी (उन्नत जातको ऐँसेलु) उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी आकर्षित गरेको थियो। ‘भिसेन्टिन कोस्ट नेचुरल पार्क’ मातहतकै क्षेत्रमा सरकारले कृषि निम्ति भनेर छुट्याएको फराकिलो जग्गा थियो। त्यसै जग्गामा उनीहरूले खेती थालेका थिए।

आज यस ओडेमिरा ग्रामीण नगरपालिकाभित्र ३६ सय हेक्टर ‘ग्रीनहाउस टनेल’ फैलिसकेका छन्, जहाँ विभिन्न प्रजातिका ऐँसेलु, स्ट्रबेरी र सलाद खाने पातहरूको उत्पादन हुँदै आएको छ। तीमध्ये कृषिमा आधारित अमेरिकाको ‘ड्रिस्कोल्स’ जस्ता कम्पनी पनि छन्।

पोर्चुगलले सन् २०१७ मा १८ हजार टन बेरी उत्पादन गरेकोमा सन् २०१८ मा त्यो मात्रा झन्डै २७ हजार टन पुर्‍याएको थियो। यसले पनि बेरी उत्पादनमा यो मुलुकले कति ठूलो फड्को मारिरहेको छ भन्ने प्रस्ट पार्छ।

यी थरीथरीका बेरी यति बेला पोर्चुगलका सुपरमार्केटमा टनाटन भरिएका देखिन्छन्। यिनका मुख्य बजार भने बेलायत, जर्मनी, नेदरल्यान्ड, बेल्जियम लगायत युरोपेली मुलुक हुन्। यो खेती मलखाद र कीटनाशकमा असाध्यै निर्भर हुन्छ। त्यसबाहेक पानी पनि पर्याप्त मात्रामा चाहिन्छ। यसका लागि मीरा नदी र शान्ता क्लारा बाँधबाट पानी उपलब्ध गराइँदै आएको छ।

यसरी यो भेगमा दिनप्रतिदिन बढ्दो औद्योगिक कृषिले गत वर्ष यहाँको पर्यावरणीय क्षेत्रमा लागेका अभियन्ताको आँखीभौं खुम्च्याएको थियो। त्यतिखेर सरकारले ठूलो मात्रामा ‘पोलिटनेल’ को अनुमति दिँदा प्राकृतिक निकुञ्जलाई प्रभावित पार्ने भन्दै उनीहरूले विरोध गरेका थिए। अभियन्ताहरूको एउटा समूह ‘जुन्तोस पेलो सुदोएस्ते’ ले त सरकारलाई यस मामलामा अदालतसम्मै घिसारेको थियो।

यहाँका कृषि कम्पनीहरूले सयौं स्थायी कर्मचारी भर्ना गरेका छन्। त्यसबाहेक फल टिप्ने सिजनमा थप दुइदेखि तीन गुणा बढी कामदार भर्ना गरिन्छ। वसन्त याममा यस्ता कामदारको माग अत्यन्तै बढी हुन्छ भने फेरि शरद लागेसँगै त्यो माग ओरालो लाग्छ।

यस्ता कम्पनीमा काम गर्नेहरू भने मुश्किलले पोर्चुगलका नागरिक छन्। त्यसले जातीय बसोबासमा लगातार अन्तर आइरहेको छ। अर्कातर्फ यी कम्पनीका निम्ति समुद्रपारबाट ल्याइने कामदारको संख्या लगातार वृद्धि हुँदै गएको छ।

आप्रवासी कामदारको हकअधिकारमा काम गर्ने गैरसरकारी संस्थाका अल्बेर्टो मातोसका अनुसार त्यसरी ल्याइने कामदार मुख्य गरेर नेपाल, भारत, बंगलादेश, थाइल्यान्ड, बुल्गेरिया, माल्दोभा र अल्जेरियाका छन्।

‘पोर्चुगल आउने मानिसका निम्ति कृषि उद्योग भनेको प्रवेश गर्ने मुख्य आधार हो,’ मातोस भन्छन्, ‘तर, यही उद्योगमा टाँसिएर यी कामदारहरू लामो समय बस्दैनन्।’

मातोसका अनुसार यी कामदार भर्खर पोर्चुगल टेक्दा असाध्यै सोझासिधा हुन्छन्। काममा लगाउनेहरूको प्रकृयाले सजिलै ठगीमा पर्न सक्छन्।

‘यसमा दलालहरू असाध्यै बढ्ता हुने गर्छन्,’ उनी भन्छन्, ‘त्यस्ता दलालले नै ठगी गर्छन्।’

त्यस्तो ठगी तलब लिने बेलासम्म चलिरहन्छ। त्यसैगरी यातायात खर्चदेखि आवास प्रबन्धमा समेत ठगी हुन्छ।

‘कम्पनीले उनीहरूलाई दिनुपर्ने भनेको न्यूनतम छ सय युरो पारिश्रमिक हो,’ मातोस भन्छन्, ‘जबकि उनीहरूले ३ सय युरो मात्र घर लैजान पाइरहेका हुन्छन्।’

पोर्चुगिज भाषा सिक्दै आप्रवासी कामदार। तस्बिर: अल जजिरा
बेलायतीहरूको स्वामित्वमा रहेको ‘दी समर बेरी कम्पनी’ ले तीन सय कामदार परिचालित गरेको छ। प्रायः पुरुष छन्। यो कम्पनीमा विशेष गरेर नेपाल, भारत, पाकिस्तान र बंगलादेशदेखि ल्याइएका कामदार काम गर्छन्।

यो कम्पनीले पछिल्लो समय म्यानपावर कम्पनीहरूमार्फत् वैदेशिक रोजगारीमा आउने कामदार लिन बन्द गरेको छ। बरू सोझै कुराकानी गरेर भर्ती गर्न थालेको छ।

‘आप्रवासी कामदार नल्याएको भए त यत्राविधि काम हुनै सक्दैन थियो,’ कम्पनीका बियात्रिज पिमिन्तेल भन्छिन्, ‘यस प्रकारका काममा पोर्चुगलका नागरिकले रूचि देखाउने गरेका छैनन्।’

बियात्रिजका अनुसार पोर्चुगल भित्र्याइने कामदार निम्ति उनीहरूले पर्याप्त मात्रामा सांस्कृतिक गतिविधि पनि सञ्चालन गर्दै आएका छन्। यो स्थानमा उनीहरूलाई भिजाएर राख्न यस किसिमका सांस्कृतिक गतिविधिलाई महत्वका साथ प्राथमिकतामा राखिएको उनले बताइन्।

बियात्रिजको समर बेरी कम्पनीले यी आप्रवासी कामदारको स्वास्थ्य सेवा र आवास सुविधाजस्ता कार्यक्रममा पनि स्थानीय निकायलाई सघाउँदै आएको छ।

त्यसैगरी सोलीमाइग्रेन्टले यी आप्रवासी कृषि कामदारको हकअधिकारका कुरालाई प्राथमिकतासाथ उठाउँदै आइरहेको छ। यस्ता थुप्रै कामदार खाली कन्टेनरकै निम्ति प्रतिमहिना एक सय युरो तिरेर भाडामा बस्दै आएका छन्। उनीहरूको आवास सुविधालाई लिएर पनि सोलीमाइग्रेन्टले आवाज उठाइरहेको छ।

यो प्राकृतिक निकुञ्जको स्थान भएकाले यहाँ ढलाइ गरेर घर बनाउन निषेधित छ। यस्तो अवस्थामा ‘प्रि फ्याब’ तरिकाले निर्मित अस्थायी प्रकृतिको बसोबास प्रबन्ध मात्र यहाँ उपलब्ध छ।

समर बेरी कम्पनीले खेतकै छेउछाउ केही कामदारको निम्ति बसोबास प्रबन्ध मिलाएको छ। प्रबन्धक बियात्रिज भन्छिन्, ‘यसले हाम्रा कामदारलाई उनीहरूको बसाइको चिन्ता पनि कम्पनीले गर्छ भनेर भरोसा दिलाउन सकेका छौं।’

यो ओडेमिरा ग्रामीण नगरपालिकामा भाडामा लिन मिल्ने घरहरूको अभाव छ। यसले आप्रवासी कामदारलाई गाह्रो परिरहेको सबैजसो बताउँछन्।

उदाहरणका लागि नेपालबाट आएका दिवाकर घिमिरेलाई नै लिऊँ। उनी माराभिला फार्मका लागि बेरी टिप्ने काम गर्छन्। आफूजस्तै नेपालबाट आएका अन्य १२ जना तन्नेरी कामदारसँग मिलेर उनले साउ तेयोतोनियोमा एउटा सानो ‘होस्टल’ भाडामा लिएका छन्।

‘आउने दुई वर्षभित्र म पोर्चुगलको स्थायी बासिन्दा बन्न कागजात तयार पार्ने योजनामा छु,’ घरबाहिर एउटा स्टुलमा बसेर घाम तापिरहेका घिमिरेले भने, ‘यो योजना पूरा हुनेमा म आशावादी छु।’

पछिल्ला वर्ष पोर्चुगल आएका धेरै आप्रवासीको योजना घिमिरेकै जस्तो छ। अझ कतिपयका निम्ति त पोर्चुगल नै अन्तिम गन्तव्य होइन। उनीहरू युरोपका अझ सम्पन्न मुलुक पुग्न पोर्चुगललाई सिँढी बनाइरहेका छन्।

घिमिरेजस्तै मणिको पनि योजना छ। उनले आप्रवासी कामदारलाई खाना खुवाउने सानो व्यवसायमा काम पाएका छन्। त्यो व्यवसायअन्तर्गतको सानो किराना पसल, रेस्टुरेन्ट र सैलुनमा मणि काम गर्छन्।

‘म उतै हुँदा पनि मेरा बा र हजुरबाले जस्तै सैलुनमा काम गर्थेँ,’ मणि भन्छन्, ‘यहाँ आएपछि एक दिन पनि बेरी टिप्न गएको छैन।’

मणिका अनुसार उनको सैलुनमा बुल्गेरिया र पोर्चुगलका ग्राहक पनि आउँछन्। ती सबै उनको कामबाट सन्तुष्ट छन्।

यति हुँदाहुँदै यस सहरका परम्परागत पोर्चुगिज पसलमा भने यी दक्षिण एसियालीहरूको चेहरा मुश्किलले देखिन्छ।

बढ्दो गहुँगोरो छाला भएका मानिसको उपस्थितिसँगै स्थानीय बासिन्दामा अनेक हल्ला पनि चल्न थालेका छन्। विशेषगरी दक्षिणपन्थी अतिवादी पोर्चुगिजहरूले यो परिस्थिति बिथोलिदिन सक्छन् भन्ने भय उनीहरूमा व्याप्त छ। छिमेकी मुलुक स्पेनमा त्यस्तो घटना भएको पनि थियो।

अधिकारवादी अल्बेर्टो मातोसलाई भने त्यस्तो लाग्दैन। उनी समयसँगै सबैथोक सामान्य बन्दै जानेमा आशावादी छन्।

‘मानिसमा एकखालको त्रास नभएको होइन,’ त्यसले केही फरक नपर्ने बताउँदै उनी थप्छन्, ‘एकताका यहाँ बुल्गेरियाबाट आएका मानिस टन्नै थिए। उनीहरूका बारेमा पनि थुप्रै अफवाह चले पनि आखिरमा केही तलमाथि भएन।’

आप्रवासी कामदारलाई सांस्कृतिक रूपले घुलमिल हुन सघाउने मध्यस्थकर्ता। तस्बिर: अल जजिरा
दिनभरि बेरी टिप्ने, बेलुकी भाषा सिक्ने

साउ तेयोतोनियोमा जसै रात पर्दै जान्छ, स्कुलका बत्तीहरू बल्न थाल्छन्।

सातामा तीनपटक यो स्कुल मध्यरातसम्मै खुल्ने गरेको छ। यो समय भने आप्रवासी कामदारका केटाकेटी निम्ति होइन। बरू वयस्क आप्रवासीहरू नै यहाँ भाषा सिक्न आउँछन्।

दिनभर काम गर्ने यस भेगका वयस्कहरूलाई राति भाषा सिकाउन स्कुलमा यस्तो व्यवस्था गरिएको हो। पोर्चुगिज भाषा नसिकेमा यहाँ स्थायी बासिन्दाको निस्सा पाउन कठिन पर्छ भन्ने उनीहरूले बुझेका छन्।

यो रात्रि कक्षामा यति बेला पाँच सय जना वयस्क विद्यार्थीले भाषा सिक्न भर्ना लिएका छन्। अर्थात्, दिनभर छ सय जना केटाकेटी पढाउने यो स्कुलले राति पाँच सय वयस्कलाई पढाइरहेको छ।

माल्दोभन भिताली सिमिनिओभ दिनभर जति बेला फूल टिप्ने काम गर्छन्, उनका केटाकेटी यो स्कुलमा पढ्न आएका हुन्छन्। त्यही स्कुलमा राति पढ्ने आफूलाई केटाकेटीले ‘बुवा त्यसो होइन, यसो पो हो’ भनेर सिकाइरहँदा उनी दंग पर्ने गरेका छन्।

यति बेला कक्षामा माल्दोभनका साथ ताजमहल अब्बास, इन्दरपाल सिंह, जितेन्दर र चरणजीत सिंह सबै एकसाथ पोर्चुगिज भाषा सिकिरहेका छन्।

राति नौ बजेपछि अर्को कक्षा सुरू हुन्छ।

मोहम्मद अल्सावादीले अन्त्यमा सबै कक्षा सिध्याउँछन् र अघि नै किनेका रासनका दुईवटा ठूला भारी बोक्दै बासस्थानतिर लाग्छन्।

यो कक्षा लिन उनी ८ किलोमिटर पैदल यात्रा गररै आउने गरेका छन्। आउन दुई घन्टा लाग्छ, जान अर्को दुई घन्टा।

‘यत्रो मेहनत उनी हाम्रो भाषा सिक्न गरिरहेका छन्,’ रातको अँध्यारोमा मोहम्मदको हराउँदै गएको शरीर नियाल्दै शिक्षक भन्दै थिए।