नेपालीले नेपालमा नै श्रमबजार विकास गर्न पर्यटनको विकास : श्रम मन्त्री यादव (भिडियो)

चितवन : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताउनुभयो । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहा नजिक रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट बुटिक रिर्सोट’ नामक होटलको आज शिलन्यास गर्नुहुँदै अब नेपालीले नेपालमा नै श्रमबजार विकास गर्न पर्यटनको विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले थौर समय र थौर लगानी प्रतिफल लिन सकिने पर्यटन क्षेत्रलाई श्रमसँग जोड्ने गरि सरकारले नयाँ कार्यक्रम ल्याउने दावी गर्नु भयो ।

उहाँले भन्नुभयो, “विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था आएको छ ।” श्रम बजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमा नै सम्भावनाको खोजी गर्नु आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

संस्कृतिलाई माटोसँग जोडेर पर्यटनको विकास गर्नसके स्वदेशमा नै रोजगारी सिर्जना हुने उहाँले बताउनुभयो । रोजगारीको खोजीमा विदेशिएका युवाले नेपालमा नै पसिना बगाउनसके विदेश पलायन हुनबाट बचाउन सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “वार्षिक ६०० भन्दाबढी नेपालीको शव नेपाल आउने अवस्थाको अन्त्य गर्न स्वदेशमा नै रोजगारी सिजना गर्नु आवश्यक छ ।”