यती एअरलाईन्सको एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क

 

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले आगामी मंसिर २० (डिसेम्बर–५) बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः सुरु गर्ने भएको छ । आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगााडी विभिन्न गन्तव्यहरुको लागि न्युनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको छ ।

‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यती एअरलाइन्सले नेपाली यात्रुका लागि रु आठ हजार ९ सय ९९ रुपियाँ र नेपालमा बसोवास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि रु १३ हजार ४ सय ९९ रुपियामा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा संगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन ।

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुकालागी विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाईन्सले माउण्टेन फ्लाईटको लागी समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहेका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान सुरु गरिएको बताउए । “हामिले पर्यटन गतिविधि बढाउन करिब २ महिना अघिदेखीनै कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं । यो अवसरलाई सदुपयोग गरी यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लमको साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नुहुनेछ”,– उनले भने । अब प्रत्येक शनिबार काठमाडौँबाट नियमित पर्वतीय उडानहरु हुनेछन ।

यती एअरलाईन्स संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ प्रबद्र्धनका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनडिपी) को साझेदार संस्था हो । यो एअरलाईन्स दिगो विकास लक्ष्यको एक हिस्साको रुपमा रहेको ‘कार्बन न्यूटर्ल’ गर्ने दक्षिण एशियाकै पहिलो र एकमात्र एअरलाईन्स हो । यती र भगिनी संस्था तारा एअरले नेपालका सवैभन्दा धेरै गन्तव्यहरुमा उडान सेवालाई दिंदै आएका छन् ।