संरक्षणकर्मीलाई घडियाल संरक्षण सम्बन्धी प्रशिक्षण

चितवन : चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा क्रियाशिल संरक्षणकर्मीहरुलाई संकटापन्न अबस्थामा पुगेको घडियाल गोही संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले आयोजना गरेको सो कार्यक्रममा चितवन र नवलपरासीका संरक्षणकर्मीहरुको सहभागीता रहेको थियो ।

 

 

 

 

गोही संरक्षणलाई प्रभावकारी र अर्थपूर्ण बनाउन घडियाल गार्ड ग्रुप र समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका पदाधिकारी तथा सदस्यहरुलाई गोही जोगाउन गर्नुपर्ने कामको विषयमा प्रशिक्षण दिइएको कोषका रेन्जर ऋषिराम सुवेदीले जानकारी दिए ।
कार्यक्रममा चितवन निकुञ्ज सौराहा सेन्टर प्रमुख सहायक संरक्षण अधिकृत प्रकास उप्रेतीले घडियाल अनुगमनमा जानु पूर्व निकुञ्ज अनुमति लिन संरक्षणकर्मीहरुलाई आग्रह गरे । पर्यटकलाई नदी सयरका लागि प्रयोग गरिने डुंगा तथा अनुगनको लागि राखिएका डुंगाहरुको गलत प्रयोग भइरहेको भन्दै उनले रातको समयमा प्रयोग हुने डुंगा जफल गर्ने बताए ।
कार्यक्रममा सिसुवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर पाण्डेले निकुञ्जका अधिकारी, नेपाली सेना र समुदायको सहकार्यमा मात्र गोही संरक्षण हुने बताए । राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले नदीमा मानवीय चाँपका कारण घडियाल संकटमा परेको भन्दै यसलाई जोगाउने दायित्व पनि मान्छेकै भएको बताए । हाम्रै कारणले गोही यो अबस्थामा आएको हो उनले भने अब हाम्रै अग्रसरतामा गोही जोगाउनु पर्छ । कार्यक्रममा निकुञ्जका सौराहा सेक्टर प्रमुख उप्रेती, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई र रेन्जर सुवेदीले सहजीकरण गरेका थिए ।