सौराहामा ”छिट्टै घुमौँ सौराहा” अभियान चलाइने

चितवन : अन्तराष्ट्रिय हवाई उडानको पर्खाइमा रहेका सौराहाका पर्यटन व्यबसायिहरु व्यक्तिगत रुपमा छुटको प्याकेज सहित आन्तरिक पर्यटकलाई स्वागत गरिरहेका छन् ।
तर पनि असोज १ गते देखि निरन्तर खुलिरहेको देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा अझै सुनसान छ । पर्यटकको घुँइचो लाग्ने यो ठाउँ यतिवेला आन्तरिक पर्यटकको फाट्टफुट्ट आवागमन वाहेक सवै गतिविधि सुस्त छन् ।

यो समय देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाका होटलहरुमा खचाखच पर्यटक हुन्थे । व्यबसायिहरुलाई पर्यटकको स्वागत देखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । रेष्टुरेन्ट व्यसायिहरुले नयाँ नयाँ कार्यक्रम सहितका प्याकेज घोषणा गर्दथे भने अन्य पर्यटकीय गतिविधिको चहलपहल मनोहक लाग्थ्यो । तर ति सवै अहिले सम्झनामा मात्रै छ ।
लकडाउन हटेर असोज १ गतेदेखि होटलहरु खुले । होटलसँगै पर्यटकीय गतिविधिहरु पनि संचालनमा आए तर दसैँ र तिहारमा केही मात्रामा देखिएका आन्तरिक पर्यटक वाहेक सौराहाका होटलहरु खाली खाली छन् । दसैँ र तिहारमा पनि सोचेअनुरुपको पर्यटक आएनन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले ५ देखि ७ प्रतिशत मात्रै पर्यटक आएको बताए । भट्टराइले भने,“ दसैँ तिहारमा ठूलो अपेक्षा थियो तर पर्यटक आएनन् । स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर पर्यटकलाई सुरक्षित साथ राखिरहेका छौँ । तर आवागमन कम छ । ”

कोभिड १९ र त्यसपछिको लकडाउनले रोजगार गुम्यो । व्यापार व्यवसाय ठप्प भए । त्यसैले नेपालीहरुको क्रयशक्तिमा कमी आयो की भनेर पर्यटन व्यवसायिहरुले पनि साविकको दररेटमा २० देखि ३० प्रतिशत छुटहरु दिइरहेका छन् । सामुहिक भन्दा व्यक्तिगत छुट प्याकेज गर्ने र त्यसबाट पर्यटक बढे सामूहिक कार्यक्रम ल्याउने सल्लाह भएको भट्टराइको भनाई छ । तर पनि छुटमा समेत पर्यटक आकर्षित नभएको व्यवसायिहरुको गुनासो छ ।

होटलहरु भन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरण्ट एण्ड बार एशोसियसन नेपाल सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकहरुको आवागमन रहेको र करिव ३० प्रतिशत पर्यटक रेष्टुरण्टहरुमा आउने बताए । तर जुन अपेक्षा गरेर १५ प्रतिशत सम्म छुट दिइएको छ त्यो अनुरुप पर्यटक आएका छैनन् ।
सौराहाकै अर्का पर्यटन व्यबसायि गुणराज थपलिया विदेशी पर्यटक नआउदा सम्म पर्यटन क्षेत्र माथि नउठ्ने बताउँछन । अहिले होटल खोलेर मात्रै राख्नुबाहेक दैनिक चल्ने आम्दानी समेत नभएको समस्या छ । छुट सहितका प्याकेज दिँदा पनि आन्तरिक पर्यटक आकर्षित नभएको भन्दै सरकारले चाँडै अन्तरािष्ट्रय हवाई उडान खोल्नुपर्नेमा उनले जोड दिए ।

त्यसो त सामुहिक छुट प्याकेज सहित घुमौँ सौराहा अभियान चलाउने अन्तिम तयारीमा व्यवसायिहरु छन् । अध्यक्ष भट्टराइका अनुसार स्थानीय सरकासँग छलफलहरु भइरहेको र कुरा सकारात्मक रहेको छ। साथै जिल्ला समन्वय समितिले पनि सात वटै प्रदेशसँग समन्वय गरिदिने र डकुमेन्ट्री सहित ठाउँ ठाउँमा पुगेर छुट प्याकेज सहित घुम्न सकिने ठाउँहरुको प्रचार प्रसार गर्ने उनको धारणा छ ।

सौराहामा ठूला साना १४० वटा होटलहरु छन् भने करिव ५० वटा रेष्टुरेण्टहरु संचालनमा रहेका छन् ।