मदनभण्डारी फाउण्डेशनले गरेको शिविरमा ८८३ जनाको आँखा जाँच

चितवन : मदनभण्डारी फाउण्डेशनले पूर्वी चितवनका दुई वटा नगरपालिकामा निशुल्क आँखा शिविर गरेको छ । शिविरमा ८८३ जनाको आँखा जाँच गरिएको छ । आँखा अस्पताल भरतपुरको सहयोगमा मदन भण्डारी फाउन्डेसन क्षेत्र नं १ क्षेत्रीय समिति,मदन भण्डारी फाउन्डेसन खैरहनी नगरपालिका,राप्ती नगरपालिका तथा साना किसान बीरेन्द्रनगरको संयुक्त रुपमा आयोजन गरेको शिविरका परीक्षण गराएका मध्य ९० जनाको मोतिया विन्दुको शल्यक्रियाको लागि आँखा अस्पतालमा रिफर गरिएको छ ।
खैरहनी नगरपालिका वडा नं ११ मा रहेको आधारभुत निम्न माध्यमिक विद्यालयमा गरिएको शिविरमा १२४ जना,वडा नं १३ मा रहेको गवै माध्यमिक विद्यालयमा गरिएको शिविरमा १६७ जना,राप्ती नगरपालिका वडा नं ६ मा रहेको पडरिया स्कुलमा गरिएको शिविरमा ३५० जना र वडा नं ७ मा रहेको जनआदर्श बहुमुखी क्याम्पस बीरेन्द्रनगरमा गरिएको शिविरमा २४२ जनाको आँखा परीक्षण गरिएको मदनभण्डारी फाउण्डेशन अन्तर्गतको स्पोर्टस एकाडेमी राप्तीका संयोजक केदार आचार्यले जानकारी दिए ।
चार वटै शिविरमा आँखा जाँच गराएका विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको छ । मोतीबिन्दु तथा आँखाका जटिल समस्य भएका ५० बर्ष भन्दा माथिका बृद्धबृद्धा तथा अति बिपन्न समुदायलाई मध्यनजर गरी दुई खैरहनी र राप्ती नगरपालिकाका चार वटा स्थानमा शिविर आयोजना गरिएको क्षेत्रीय समितिका अध्यक्ष गोविन्द कँडेलले जानकारी दिए । शिविरको स्थानीय संयोजकमा तारकेश्वर नाथ सिंह रहेका थिए ।