नेपालको कृषि क्षेत्र सङ्कटमाः कृषि मन्त्री भुसाल

चितवनः कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले नेपालको कृषि क्षेत्र सङ्कटमा भएको बताउनुभएको छ ।
समग्र कृषि क्षेत्र सङ्कटमा भएको उल्लेख गर्दै मन्त्री भुसालले कृषिको एउटा क्षेत्र सुधार गरेर मात्रै नपुग्ने बताउनुभयो । विगतको व्यवस्थामा कृषि भनेको वैदेशिक सहयोगमा भएकाले तत्कालीन समयमा सहयोग, पैसा तथा प्रविधि समेत भित्रिए पनि त्यसलाई हामीले आफ्नो बनाउन नसकेको भुसालले बताउनुभयो । पछिल्लो समय कृषिको सबै क्षेत्र बजारलाई छोड्दा कृषि क्षेत्र सङ्कटमा पुगेकाले कृषिको कुनै पनि व्यवस्था नभएको भुसालले बताउनुभयो ।
चितवनको सौराहामा आज आयोजित दुग्ध किसानहरुसँगको अन्तरक्रियामा मन्त्री भुसालले नेपालको कृषि व्यवस्था बनाउन कृषि क्षेत्रमा काम गर्ने किसानले आधारभूत आवश्यकता पाउनुपर्ने बताउनुभयो ।
दूधको उत्पादन तथा बजारीकरणमा देखिएको समस्या र समाधानको विषयमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले आयोजना गरेको कार्यक्रममा किसानहरुले दूधको बजारीकरण हुन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले दूधको नीति लागू नगरिनु, व्यवसायिक पशुपालनको मापदण्ड नहुनुलगायका कारणले किसानहरु मारमा परेका बताउनुभयो । कोभिड महामारीका कारण नेपालमा ३३ प्रतिशतले दूधको उत्पादन घटेको र पछिल्लो समय मिल्क होलिडे भन्दै किसानको दूध उठाउन छोडिएकोमा किसानहरुले गुनासो गरेका थिए ।