कोरोना भाइरस : संक्रमितबाट कुन अवस्थामा र कसरी हुन्छ अन्यमा संक्रमण ?

 

सञ्जय श्रेष्ठ, काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर फैलिसकेको छ । यसैबीच कोरोना संक्रमण कसरी हुन्छ भन्ने विषयमा पनि फरकफरक धारणाहरु आइरहेका छन् ।

कोरोना भाइरस संक्रमण भएको व्यक्तिबाट अर्को व्यक्तिमा कति समयमा सर्छ भन्ने विषयको अध्ययनमा फरक फरक शारीरिक अवस्थामा मानिसमा भएको संक्रमणको अवस्थाका आधारमा सर्ने र नसर्ने देखिएको छ । पछिल्लो समय ९ दिनपछिको अवधिमा कोरोना नसर्ने भन्ने तथ्य संक्रमितको स्वास्थ्य अवस्थामा भर पर्ने चिकित्सकहरुले बताएका छन् ।

निरोगी तथा कुनैपनि रोग नभएको मानिसलाई कोरोना संक्रमण भएको अवस्थामा ९ दिनपछि अन्य व्यक्तिमा नसर्ने डा. सविन थपलियाले बताए । तर, संक्रमित व्यक्तिमा दीर्घ रोगी तथा रोगप्रतिरोधात्मक क्षमता कम भएको भए संक्रमण भएको एक महिनासम्म पनि भाइरस सर्न सक्ने उनले बताए ।

डा. थपलियाकाअनुसार कोरोना संक्रमणको प्रि–अवस्था (सामान्य लक्षण देखिएको अवस्था)मा पनि कोरोना सर्ने सम्भावना रहन्छ । कुनै व्यक्तिलाई सामान्य लक्षण देखिएको अवस्थामा पनि कोरोना संक्रमण भएको भए सर्ने उनले बताए ।

सामान्य तथा निरोगी मानिसमा लामो समयसम्म कोरोना संक्रमण देखिएपनि ९ दिनपछि देखिएको संक्रमण अरुमा नसर्ने खालको हुने उनले बताए । मानिसमा सामान्य लक्षण देखिएको अवस्थामा भने सर्ने उनले बताए ।

संक्रमित व्यक्ति रोग प्रतिरोधात्मक क्षमता कम भएको वा दीर्घ रोगी भएको अवस्थामा भने उक्त व्यक्तिबाट संक्रमण भएको एक महिनासम्म अर्को व्यक्तिमा भाइरस सर्न सक्ने उनले बताए ।