लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न अनुमति

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीमाथि अनुसन्धानका लागि एक हप्ता थुनामा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको हो ।उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।

न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ । २ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।