सेयर बजारले इतिहास रच्याे, कारोबार पनि अहिलेसम्मकै उच्च

काठमाडौं : यो साता सेयर बजारले इतिहास रचेको छ । नेप्सेले ५३ महिना अगाडिको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । आज बजार परिसूचक नेप्से १८.४३ अंकले वृद्धि हुँदा १८९३.२४ अंकमा बन्द भएको छ ।

प्रि-ओपान सेसनमै करिब २० अंकले बढेको नेप्से नियमित कारोबार सुरु भएसँगै उतारचढाव पनि सुरु भएको थियो । नेप्से बढेर ३ पटकसम्म १९०० अंकको विन्दु पार गरे पनि अन्त्यमा नयाँ १९०० अंकभन्दा तल झरेर बन्द भयो । बिहीबार बजार परिसूचक नेप्से १९२७ अंकसम्म पुगेको थियो ।
२०७३ साउन १२ गते नेप्से १८८१.४५ अंकसम्म पुगेको थियो । तर बिहीबार नेप्सेले उक्त रेकर्ड तोडेको हो । बुलिस ट्रेन्डमा रहेको बजारलाई बैंकिङ र अन्य सूचकले साथ दिँदा नेप्सेले इतिहास रचेको छ ।

नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स २.८५ अंकले बढेर ३६५.१८ अंकमा पुगेको छ । त्यस्तै फ्लोट पनि १.५४ अंकले वृद्धि हुँदा १२८.५४ अंकमा पुगेको छ ।

बजार परिसूचक मात्रै नभएर बिहीबार कारोबार रकम पनि ऐतिहासिक भएको छ । यही साता आइतबार अहिलेसम्मकै उच्च ६ अर्ब ९० करोडको कारोबार भएकामा आज साढे सात अर्बमाथिको कारोबार हुँदा उक्त रेकर्ड तोडिएको छ । बिहीबार नेप्सेमा ७० हजार ३ वटा कारोबारमा २१० कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

अधिकांश समूहको सूचक रातो भए पनि बजारलाई लिड गर्ने बैंकिङ र अन्य समूहको सूचक दोहोरो अंकले बढेसँगै नेप्सेले ५३ महिनाअगाडिको रेकर्ड तोड्दै इतिहास रचेको छ । सँगै हाइड्रोपावर, उत्पादन र अन्य समूहको सूचक पनि सामान्य बढेको छ । करिब ४५ प्रतिशत हिस्सा रहेको बैंकिङ समूहको सूचक २.७ प्रतिशतले बढेको छ भने दोस्रो धेरै हिस्सा रहेको अन्य समूहको सूचक पनि १.०२ प्रतिशतले बढेको छ । जसले गर्दा अधिकांश समूहको सूचक घटे पनि नेप्से भने दोहोरो अंकले बढेको छ ।

व्यापार समूहको सूचक ५ प्रतिशत माथिले करेक्सन हुँदा होटेल समूहको सूचक पनि २ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा समूहको सूचक १.२१, निर्जीवन बिमा समूहको सूचक १.६७ प्रतिशतले करेक्सन भएको छ ।

ऐतिहासिक कारोबार भएको दिन कारोबार रकममा बजारको नेतृत्व नेपाल पुनर्बिमा कम्पनीले गरेको छ । कम्पनीको ५८ करोड १३ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको पनि ३८ करोड ३४५ लाखभन्दा माथिको कारोबार भएको छ । शिवम् सिमेन्टको करिब २९ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको पनि २८ करोड माथिको कारोबार भएको छ ।