बर्दिवास घटना : मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाबसा खातुनको हत्या प्रकरणमा भएको आगजनी तथा प्रदर्शनको क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगले महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी रहेको औंल्याउँदै भनेको छ, ‘अपराधका घटनामा संलग्नहरू उपर कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्ने जो कोहीलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’