सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ६.२९ प्रतिशत हो ।

चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत आर्थिक वर्षम भन्दा खर्च बढेको बताए ।गत आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ४.५३ प्रतिशत मात्रै खर्च भएको थियो ।

यस आर्थिक वर्षमा चालुतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६.६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५.९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले जानकारी दिए ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५.४० प्रतिशत र पुँजीगततर्फ ३.५२ प्रतिशत मात्रै खर्च भएको थियो ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गरेका छन् । पहिलो चौमासिकमा प्रदेश सरकारको बजेट खर्चसमेत सन्तोषजनक रहेको उनले बताए ।

‘पर्याप्त कर्मचारी नहुँदा पनि हामीले यस वर्ष बजेट खर्च बढाएका छौँ’ मन्त्री बोहराले भने ‘अर्काे चौमासिकमा ४० प्रतिशत र आर्थिक वर्ष अन्यसम्म ९० प्रतिशत बजेट खर्च हुन्छ ।’

राजश्व सङ्कलनमा पनि वृद्धि

प्रदेश सरकारले पहिलो चौमासिकमा ३१ करोड ९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमै ४५.९३ प्रतिशत राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले पहिलो चौमासिकमा राजस्व लक्ष्यको ३२.१२ प्रतिशत मात्रै सङ्कलन गरेको थियो ।