६ वर्षीया बालिका बलात्कृत : बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी: बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले रातोपाटीलाई बताए ।  बर्दिबास नगरापालिका–१  घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ ।