अरुणखोला पुलमा शंकास्पद वस्तु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी : पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपरासीको अरुणखोला पुलमा शंकास्पद वस्तु भेटिएको छ ।
शंकास्पद वस्तु देखिएपछि राति साढे ९ बजेबाट सडक अवरुद्ध भएको छ ।   पुलको बीच भागमा प्रेसर कुकर, दुधको क्यान जस्तो देखिने वस्तुमा तार जोडेर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको स्थानीयले जनाएका छन् ।

शंकास्पद वस्तु बम भए नभएको यकिन नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
शंकास्पद वस्तु डिस्फोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थल जाँदै छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटना स्थललाई नियन्त्रणमा लिएको छ ।

शंकास्पद वस्तु नजिक यात्रु र सवारी साधनलाई जान दिइएको छैन । मंसिर ८ गते जनमुक्ति सेना दिवस भएको कारण जनमुक्ति सेना दिवसलाई लक्षित गरी शंकास्पद वस्तु राखिएको हुन सक्ने आशंका गरिएको छ तथापि शंकास्पद वस्तु राख्नेको पहिचान भने हुन नसकेको डिएसपी खाँँणले बताए ।