राष्ट्रिय उद्योग दिवस २०७७ को अवसरमा भरतपुर–४ को जस्मिन पेन्टस् सम्मानित

चितवन :  मंगलबार छैठौँ राष्ट्रिय उद्योग दिवस २०७७ को अवसरमा भरतपुर–४ को जस्मिन पेन्टस् सम्मानीत भएको छ । भरतपुर महानगरपालिका र चितवन उद्योग संघले संयुक्त रुपमा आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा जस्मिन पेन्टस् सम्मानीत भएको हो ।
जस्मिन पेन्टस्ले उद्योगको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको तथा सामाजिक कार्यमा समेत भूमिका निर्वाह गरेको भन्दै सम्मानीत गरिएको हो । जस्मिन पेन्टस्का सञ्चालक मधुसुदन अर्यालले सम्मान ग्रहण गर्नुभएको थियो । महानगरपालिकाले सम्मान गर्दा आफूहरुको जिम्मेवारी अझै बढेको अर्यालको भनाइ छ ।


मनकामना ग्रुप अन्तर्गत जस्मिन पेन्टस् सञ्चालनमा आएको भन्दै उहाँले स्थापनाको २५ वर्षमा स्वदेश तथा विदेशबाट धेरै सम्मान पाएको बताउनुभयो । आफूहरुले सामान्य परिवारबाट मिहेनत गरेर अहिलेको स्थानमा आएको भन्दै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको अर्यालको भनाइ थियो । यसैबीच, सो कार्यक्रममा भरतपुर महानगरपालिकाले उत्कृष्ट महिला उद्यमीका रुपमा भरतपुर–१२ स्थित गौरव नेपाल इञ्जिनियरिङ प्रालिलाई समेत सम्मान गरेको छ । महानगरपालिकाले दुवै संस्थालाई सम्मानपत्रद्वारा सम्मानीत गरेको हो ।