कोरोना कहरः चितवनमा ११ प्रतिशत उद्योग बन्द

चितवन: कोभिड–१९ सङ्क्रमण जोखिमका कारण चितवनका ११.२० प्रतिशत उद्योगहरु पूर्णरुपमा बन्द भएका छन् । चितवन उद्योग संघले साउन र भदौ महिनामा गरेको विद्युतीय सर्भेक्षण अनुसार जिल्लामा अधिकांश उद्योग आंशिक रुपमा समेत सञ्चालनमा रहेको देखिएको छ ।
सञ्चालित उद्योगमध्ये २५ प्रतिशत भन्दा कम क्षमतामा ४४.४० प्रतिशत, ५० प्रतिशत भन्दा कम क्षमतामा ३३.३० प्रतिशत र ५० प्रतिशतभन्दा माथिको क्षमतामा ११.१० प्रतिशत सञ्चालनमा रहेको पाइएको चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले बताउनुभयो । छैठौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उद्योगमा कोभिड–१९ को प्रभाव र औद्योगिक पुनरुत्थानका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै वस्तीले जिल्लाका ११.१० प्रतिशत उद्योगमा कामदारको अभाव, ८८.९० प्रतिशत उद्योगमा उत्पादन बिक्रि वितरणमा समस्या, ४४.४० प्रतिशत उद्योगमा कच्चा पदार्थको अभाव देखिएको बताउनुभयो ।
५५.६० प्रतिशत उद्योगले उद्योग परिसरकै क्वारेन्टाइनमा, आंशिक रुपमा उद्योगको क्वारेन्टाइनमा राखेर काम लगाएका उद्योगको संख्या २२.२० प्रतिशत रहेको छ । चितवन उद्योग संघमा ९५० जना उद्योगी आवद्ध छन् ।
भरतपुर महानगरपालिकाले उत्कृष्ट महिला उद्यमीका रुपमा भरतपुर–१२ स्थित गौरव नेपाल इञ्जिनियरिङ प्रालि र उत्कृष्ट उद्योगका रुपमा भरतपुर–४ को जस्मिन पेन्ट्सलाई सम्मान गरेको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले उद्योग संरक्षण र प्रवद्र्धन गर्न राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका उद्योग प्रवद्र्धन शाखा प्रमुख अनुज घिमिरेले यो वर्ष उद्योग व्यवसाय प्रवद्र्धनका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको बताउनुभयो । उहाँका अनुसार यो वर्ष ८० जना लघु उद्यमी तयार गर्ने, वडा नम्बर २० मा ५ विघा क्षेत्रफलमा प्रदेश स्तरीय औद्योगिक ग्राम बनाउने, वडा नम्बर २१ मा ९ विघामा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउन डिपिआर बनिसकेको छ ।