दक्ष कामदारको अभावले उद्यो सञ्चालनमा समस्याः उद्योगी व्यवसायी

चितवन: उद्योग व्यवसायमा दक्ष कामदारको अभाव सिर्जना भएको उद्योगीहरुले बताएका छन् । छैठौँ राष्ट्रिय उद्योग दिवसको अवसर पारेर रत्ननगर उद्योग वाणिज्य संघसँगको सहकार्यमा घरेलु तथा साना उद्योग कार्यालय चितवनले आयोजना गरेको कार्यक्रममा पूर्वी चितवनका उद्योगीहरुले दक्ष कामदार नहुँदा उद्योग सञ्चालनमा समस्या परेको बताएका हुन् ।
स्थानीय स्तरमा दक्ष कामदार नहुँदा भारतका विभिन्न स्थानबाट कामदार ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उद्योगीहरुको गुनासो गरेको थियो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले घरेलु तथा साना उद्योग कार्यालय चितवनले दक्ष कामदार उत्पादनका लागि सीपमूलक तालीम सञ्चालन गर्नुपर्ने बताउनुभयो । दक्ष कामदार उत्पादन भएको अवस्थामा स्थानीय पुँजी बाहिर नजाने भन्दै समृद्ध नेपाल निर्माणको आधार तयार हुने रेग्मीको भनाइ थियो ।
उहाँले उद्योग सञ्चालनका लागि पूर्वाधार अभाव, उद्योग दर्तामा समस्या, औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको भन्दै उहाँले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कच्चा पदार्थ आयात गरेर उद्योग सञ्चालन गर्नभन्दा तयारी उत्पादन ल्याएर व्यापार गर्न भन्सारमा कर न्यून लाग्ने गुनासो गर्दै उद्यमी निर्माण गर्नका लागि कच्चा पदार्थ आयातमा सरकारले भन्सार छुट गर्नुपर्ने रेग्मीले बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख उद्योग अधिकृत यादवनाथ आचार्यले चितवन जिल्लामा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगको दर्ता संख्या र दर्ता गर्ने प्रकृयाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सीपमूलक तालीम प्रदान गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले विभिन्न तालीमहरु प्रदान गर्दै आएको समेत बताउनुभयो ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका कोषाध्यक्ष ज्ञानबहादुर बिसुरालले ऐन नियमका कारण जिल्लामा उद्योग दर्तामा समस्या भएको बताउनुभयो । राष्ट्रिय निकुञ्जका कारण मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनका लागि धेरै समस्या हुने गरेको भन्दै यसलाई सहज पार्नुपर्ने बिसुरालको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले व्यवसायमैत्री ऐन निर्माणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
जिल्लावासीलाई उद्योगी बनाउनका लागि घरेलु तथा साना उद्योग कार्यालयको महत्वपूर्ण भूमिका रहेको भन्दै खनालले उद्योगहरुलाई स्थानीय तहमा दर्ता गरेपछि अन्य स्थानमा दर्ता गर्नुपर्नेगरि काम अगाडि बढाइएको बताउनुभयो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सदस्य विरन्जना घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो । रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।