बालिका हत्या प्रकरण : एकजना पक्राउ

महोत्तरी : बर्दिबास नगरपालिका १४ सुगम बस्ती बस्‍ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।

सोही ठाउँमा पसल गरी बस्ने गौशाला नगरपालिका ५, जिरो माईल घर भएका २६ वर्षीय अरुणकुमार साहलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा आइतबार साँझ बालिका हराएकाले भन्ने खबर इलाका प्रहरी कार्यालय बर्दिबासमा प्राप्त हुनासाथ खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा पसलमा सामान किन्न आएकी बालिकालाई साहले पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिचेर हत्या गरेका थिए ।

बालिकाको मृत्यु भएपछि शव आफू सुत्ने कोठामा राखेको र सोमबार साँझ शव बोरामा हाली घरभन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको प्रहरीले जनाएको छ ।

घटनापछि अरूणले गौशाला नगरपालिका ५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराएपश्चात निजको बुबाले इलाका प्रहरी कार्यालय गौशालामा पुर्‍याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घर आगजनी गर्नुका साथै बर्दिबास नगरपालिका १४ स्थित चोकमा सडक अवरोध गरेका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।