सिनेमा क्षेत्र खोल्न चलचित्रकर्मीको आग्रह

काठमाडौं : चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारको जीविकोपार्जनमा समस्या भएको भन्दै उनले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसके पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिलेसम्म कुनै पनि फाइदा लिन नसकेको बताए । उनले भने, ‘‘अति प्रभावितमा हामीलाई बजेटले पनि समेटेन । तर राष्ट्र बैंकले चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा समेटिदियो । तर त्यसको अहिलेसम्म के फाइदा हो भन्ने कुरा आएको छैन ।’’

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टा-सर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमा समेत गराइसकेको उनले बताए । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताए । उनले भने, ‘‘गीत संगित श्रष्टा सर्जक कलाकार प्राविधिक सबैको समस्या छ ।

यसकारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौं । हाम्रो भनाइ अब हामीलाई छायांकन खोलिदिनुस् हामी विश्‍व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई हामीले अपनाएर सिनेमा छायांकनमा जान सक्छौं भन्ने कुरा पनि लगेर हामीले बुँदागत यो यो गर्न सक्छौं र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौं ।’’

अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरञ्‍जन मात्रै नभएर कला संस्कृति वेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गरेका हुन् । त्यसका साथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि बताए ।

यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दूरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवामूलक उद्योगका रुपमा स्थापित गर्न सफल भएको बताए । उनले भने, ‘‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथीहरु र त्यसका साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता उद्योगमा हाल्न सफल भयौं ।’’

चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेदवारी दिएको अधिकारीले बताए ।

चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अब भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउदै आएको सुविधा पाउने अवस्थामा पुर्‍याउन आफूले महासंघमा बसेर काम गर्न चाहेको बताए । अधिकारीले उद्योग वाणिज्य महासंघको ५४औं आसन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन् ।

यस्तै आफ्नो ध्यान स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ र आयातलाई घटाएर निर्यात बढाउनुपर्छ भन्नेतर्फ रहेको पनि अधिकारीले स्पष्ट पारे ।