‘पैसाका लागि आफ्नो मोटोपन र गरिबीको खिल्ली उडाएँ’

मुम्बई : दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनमा लागुऔषधको मुद्दा आएपछि फिल्म र टीभीजगत्‌का धेरै हस्तीसँग नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोधपुछ गर्‍यो ।

एनसीबीले थुप्रै सेलिब्रिटीको घर तथा कार्यालयमा छापा पनि मार्‍यो । यही मुद्दाको ताजा नाममा भारतका चर्चित हास्यकलाकार भारती सिंह पनि जोडिएकी छिन् ।

भारती सिंहको घर र कार्यालयबाट शनिबार ८६.५ ग्रामा गाँजा फेला परेको थियो । एनसीबीका अधिकारीहरुले भारती र उनका श्रीमान हर्ष लिम्बाचियाले गाँजा सेवन गर्ने गरेको स्वीकारेको बताए । भारती र उनका श्रीमान १४ दिनको न्यायिक हिरासतमा राखिने बताए पनि जमानतमा छुटेका छन् ।

कमेडी क्‍विन
‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ र ‘कमेडी सर्कस’ बाट स्ट्यान्ड अप कमेडियनका रुपमा उदाएकी भारती सिंह पन्जाबकी छोरी हुन् ।

पछिल्लो १२ वर्षमा उनले स्ट्यान्ड अप कमेडीका क्षेत्रमा एक उचाइँ हासिल गरिसकेकी छिन् । जसका कारण उनी ‘कमेडी क्‍विन’ उपनामबाट पनि परिचित छिन् । ३६ वर्षीया भारतीले आफ्नो सफलताको कथा लामो संघर्षपछि लेखेकी हुन् ।

भारतीको जन्म सन् १९८४ जुलाई ३ मा पन्जाबको अमृतसरमा भएको थियो । उनको बुबाको निधन हुँदा भारती दुई वर्षकी मात्रै थिइन् । त्यतिबेला उनकी आमा भर्खर २२ वर्षकी थिइन् । भारतीका बुबा नेपाली मूल र आमा पन्जाबी थिइन् । उनको बाल्यकाल गरिबीमा बितेको थियो, जुन कुरा उनले थुप्रै अन्तर्वातामा उल्लेख गरिरहेकी हुन्छिन् ।

“पैसा कमाउन आफ्नो मोटोपनको मजाक उडाएँ”

पैसा कमाउनकै लागि आफ्नो गरिबी र मोटोपनको मजाक उडाउनु परेको भारतीले एक अन्तर्वार्तामा भनेकी थिइन् । जी टीभीबाट प्रसारण हुने कार्यक्रम ‘जज्बात’ मा कुराकानीका क्रममा उनले यो कुराको खुलासा गरेकी थिइन् । गरिबीका कारण उनकी आमा कपडा सिलाउने काम गर्थिन् र भारतीले आज पनि सिलाइ मेसिनको आवाज सुन्दा विगतको आफ्नो पीडादायी दिनहरुको सम्झनाहरु ताजा हुने गरेको पनि बताइन् । उनकी आमा कारखानामा काम गर्थिन् ।

भारतीभन्दा अघि उनका एक दाइ र दिदी थिए । त्यसैले पनि उनकी आमा भारतीलाई जन्माउन चाहँदैनथिइन् । उनी भन्छिन्, “आमाले मलाई गर्भमै मार्ने हरेक प्रयास गर्नुभएको थियो, तर सायद मेरो जन्म हुने तय थियो ।”

आफनो बाल्यकाल सम्झिँदै भारती भन्छिन्, “पैसा नभएकै कारण हामी हरेक पर्वमा रुने गर्थ्यौं । पैसा माग्‍न जाँदा मेरी आमाले गाली खानुपर्थ्यो । म उमेरभन्दा अगाडि नै हुर्किसकेकी थिएँ ।”

भारतीले यी परिस्थितिहरुको सामना गरेरै आजको यो सफलता प्राप्त गरिन् । अमृतसरमा कलेजका दिनदेखि नै भारती प्रसिद्ध कमेडियन कपिल शर्मालाई चिन्थिन् । यी दुवैको सफलताको यात्रा पनि उस्तै हो ।

भारतीको पक्राउ पछि ट्‌विटर प्रयोगकर्ताहरु कपिल शर्मालाई पनि ट्रोलमा तानिरहेका छन् । उनीहरुले के अब कपिलले आफ्नो शोमा भारतीको खिल्ली उडाउँछन् ? के अब जनचेतना जगाउने कार्यक्रममा भारतीलाई उपस्थित गराउँछन् त ? भन्‍ने यावत् प्रश्नहरु गरिरहेका छन् । यति मात्रै नभई उनीहरुले कपिलको स्टुडियोमा पनि छापा मार्नुपर्नेमा जोड दिइरहेका छन् ।

 

भारती एक सुटर पनि थिइन्
भारती सिंह हास्य कलाकारका साथै एक सुटर र आर्चर पनि थिइन् । यदि उनी कमेडियन नभएको भए सुटर हुने पनि उनले बताएकी थिइन् । उनले भनेकी थिइन्, “तपाईंहरु सबैले मलाई टीभीमा ओलम्पिकमा सुटर वा तीरन्दाजीमा भारतलाई प्रतिनिधित्व गर्दै गरेको देख्नुहुन्थ्यो ।”

सुटिङ क्षेत्र छाड्नुपरेको कारण उनी यसरी सुनाउँछिन्, “जब मैले सुटिङका लागि लुगा र आवश्यक साधनहरुका लागि १० लाख रुपैयाँ लाग्‍ने कुरा थाहा पाएँ । त्यसपछि मैले मेरी आमालाई यसबारे सुनाउँदा उहाँले मलाई घुरेर हेरिरहनुभएको थियो । किनभने त्यो समयमा हामीसँग पैसा थिएन र १० लाख पनि हाम्रा लागि निकै ठूलो रकम थियो । जसका कारण मैले यो क्षेत्र छोड्नुपर्‍यो । यसका लागि म अत्यन्त दुःखी छु ।”

पैसा हुँदासम्म यसका लागि समयले डाँडा काटिसकेको उनले महसुस गरिन् ।

कमेडी करियर
भारतीले रियालिटि शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट आफ्नो करियर सुरु गरेकी हुन् । उनी यस शो की दोस्रो रनर अप थिइन् । यसपछि उनले ‘कमेडी सर्कस-३ का तडका’ मा भाग लिइन् ।
यसपछि उनी प्रायः सबै कमेडी शोहरुमा देखिन थालिन् र उनलाई धेरैले रुचाए पनि । उनी कमेडी शो लगायत ‘नच बलिए’, ‘झलक दिख्लाजा’ र ‘बिग बोस’ मा पनि देखिइन् ।

उनी ‘इन्डियाज गट ट्यालेन्ट’ र ‘इन्डियाज बेस्ट डान्सर’ की सञ्चालिका र कमेडी दंगलकी निर्णायक पनि बनिन् । कपिल शर्माको शो मा लल्लको उनको भूमिका लागि धेरैले रुचाएको छ ।

सामान्य रुपमा पुरुष प्रधान स्ट्यान्ड अप कमेडी क्षेत्रमा भारती सिंहले आफ्नो छुटै र सफल पहिचान बनाएकी छिन् । उनी केही हिन्दी र पन्जाबी चलचित्रमा पनि देखिसकेकी छिन् ।

सामाजिक सञ्जालमा सक्रियता
सामाजिक सञ्जालमा सक्रिय भारती सिंहको फ्यान फलोअर्स यहाँ देख्‍न सकिन्छ । फेसबुकमा उनका ७२ लाखभन्दा धेरै फलोअर्स छन् भने इन्स्टाग्राममा ३६ लाखभन्दा धेरै छन् ।

यद्यपि पछिल्लो समय ट्‌विटरमा त्यत्ति सक्रिय नदेखिएकी भारतीको यसमा २.८ फलोअर्स छन् । उनको पक्राउपछि ट्‌विटर प्रयोगकर्ताहरुले उनको एक पुरानो लागुऔषध प्रयोग नगर्न भनिएको ट्‌विट पुनः रि-ट्‌विट गरिरहेका छन् ।

उनले २०१५ जुलाई ९ मा लागुऔषध स्वास्थ्यका लागि हानिकारक भएको भन्दै ट्‌विटर गरेकी थिइन् । जसको अहिले जम्मेरै मजाक उडाइरहेको छ ।

 

भारतीका श्रीमान् हर्ष को हुन् ?
भारती सन् २०१७ डिसेम्बर ३ मा हर्ष लिम्बाचियासँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । हर्ष एक स्क्रिप्ट राइटर, निर्माता र होस्ट हुन् । उनी भारतीभन्दा तीन वर्ष कान्छा हुन् ।

भारती र हर्षको भेटघाट कमेडी सर्कस शोमा भएको थियो । हर्ष यस शोका स्क्रिप्ट राइटर थिए, त्यो समयमा हर्ष र भारती दुवै संघर्षका दिनमा थिए ।

हर्षले ‘कमेडी सर्कस के तानसेन’, ‘कमेडी नाइट्स बचाओ’ र ‘कमेडी नाइट्स लाइभ शो’ को स्क्रिप्ट लेखिसकेका छन् । यसका साथै उनले पीएम नरेन्द्र मोदीको बायोपिकमा डायलग र ‘मंगल’ चलचित्रमा टाइटल ट्रयाक लेखेका छन् ।

निर्माताका रुपमा उनी ‘खतरा, खतरा, खतरा’, ‘हम तुम’ और ‘क्‍वारेन्टिन शोट’ मा आबद्ध थिए । भने हालै उनीहरु दुवैजना ‘इन्डियाज बेस्ट डान्सर’ होस्ट गरिरहेका थिए ।
– बीबीसी हिन्दीबाट